नाभी पिल्लेले पाइन् नोबेल शान्ति पुरस्कार
काठमाडौं। सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकामा जन्मिएकी मानवअधिकारकर्मी तथा अन्तर्राष्ट्रिय कानुनविद् नवानेथेम ‘नाभी’ पिल्लेलाई प्रदान गरिएको छ।
नर्वेजियन नोबेल समितिले शुक्रबार घोषणा गर्दै शान्ति र अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि उनलाई यस वर्षको प्रतिष्ठित पुरस्कार दिने निर्णय गरेको जनाएको छ।
नोबेल समितिका अनुसार पिल्लेले असाधारण साहस, निष्ठा र दृढ नैतिक अडानका साथ विश्वव्यापी कानुनी व्यवस्थालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेकी छन्।
विशेषगरी युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रयासमा उनको योगदान उल्लेखनीय रहेको समितिले जनाएको छ।
सन् १९४१ मा दक्षिण अफ्रिकाको डर्बनमा भारतीय तमिल मूलको परिवारमा जन्मिएकी पिल्लेले रङ्गभेदी शासनका बेला सामाजिक विभेद, जातीय पृथकीकरण र बहिष्करणको सामना गर्दै कानुनी क्षेत्रमा आफ्नो यात्रा अघि बढाएकी थिइन्। उनले सन् १९६७ मा आफ्नै कानुनी फर्म स्थापना गरेकी थिइन्। रङ्गभेदी शासनविरुद्ध संघर्ष गर्ने अभियन्ताहरूको पक्षमा वकालत गर्दै उनले मानवअधिकार र समान न्यायका लागि आवाज उठाएकी थिइन्।
उनको कानुनी यात्राको महत्त्वपूर्ण पक्ष नेल्सन मण्डेलासहित रङ्गभेदविरुद्ध उभिएका व्यक्तिहरूको पक्षमा गरेको वकालत हो। त्यसपछि उनले दक्षिण अफ्रिकाको उच्च अदालतमा न्यायाधीशका रूपमा काम गरिन्। सन् १९९९ मा उनी रुवान्डाका लागि गठित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणकी न्यायाधीश तथा अध्यक्ष बनिन्। उक्त न्यायाधिकरणमा काम गर्दा यौन हिंसा र बलात्कारलाई मानवताविरुद्धको अपराध तथा नरसंहारसँग सम्बन्धित अपराधका रूपमा स्थापित गर्ने कानुनी प्रक्रियामा उनको भूमिका महत्त्वपूर्ण रह्यो।
पिल्लेले अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पनि न्यायाधीशका रूपमा सेवा गरिन्। सन् २००८ देखि २०१४ सम्म उनी संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको जिम्मेवारीमा रहिन्। यस अवधिमा उनले विश्वभर मानवअधिकार संरक्षण, विभेदविरुद्धको अभियान र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनका विषयमा काम गरिन्।
यसका अतिरिक्त, सन् २०२१ देखि २०२५ सम्म उनले प्यालेस्टिनी क्षेत्रसँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको अध्यक्षता गरिन्। उनी म्यानमारमाथि नरसंहारको आरोप लगाइएको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयमा तदर्थ न्यायाधीशका रूपमा पनि संलग्न छिन्। उनको लामो न्यायिक अनुभवले अन्तर्राष्ट्रिय कानुनी संस्थाहरूको भूमिका र प्रभाव विस्तार गर्न सहयोग पुर्याएको नोबेल समितिको निष्कर्ष छ।
नोबेल समितिले अन्तर्राष्ट्रिय कानुनको सम्मान र कार्यान्वयन शान्तिपूर्ण विश्व निर्माणका लागि अपरिहार्य रहेको उल्लेख गरेको छ। युद्ध अपराधमा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने, पीडितलाई न्याय दिलाउने र द्वन्द्वको समाधान बल प्रयोगबिना गर्न सक्ने कानुनी प्रणालीको विकासमा पिल्लेको योगदानले उनलाई यस वर्षको पुरस्कारका लागि योग्य बनाएको समितिको भनाइ छ।
उनलाई प्रदान गरिएको सन् २०२६ को नोबेल शान्ति पुरस्कारले मानवअधिकार, न्याय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको संरक्षणमा काम गर्ने व्यक्तिहरूको भूमिकालाई पुनः विश्वव्यापी रूपमा उजागर गरेको छ।
