`

पूर्वप्रधानमन्त्री खानको प्रान्तीय गढमा सङ्कटकाल घोषणा

Nepal One HD २५ असोज २०८३ २१:३१
विश्व

काठमाडाैँ। राष्ट्रपतिको कार्यालयले आइतबार बताएअनुसार जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरूले गरेको सरकारविरोधी प्रदर्शन र उत्तरपश्चिममा निरन्तरको आन्दोलनपछि पाकिस्तानले उत्तरी प्रान्त खैबर पख्तुनख्वालाई सङ्कटकालीन कानुन अन्तर्गत राख्ने निर्णय गरेको छ।

यहाँ खानका हजारौँ समर्थकहरूले उनको रिहाइको माग गर्दै र कठोर आर्थिक अवस्थाबाट प्रेरित सरकारविरोधी आलोचना गर्दै खैबर पख्तुनख्वा प्रान्तमा मार्च गर्दै आएका थिए ।

उक्त उपायहरू घोषणा भएलगत्तै खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका सांसद जुनाइद अकबरले एक्समा लेखे, “प्रान्तका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई प्रान्तीय अध्यक्षसहित पक्राउ गरिएको छ।”

सरकारी प्रवक्ताले पीटीआईका प्रान्तीय नेताहरूको पक्राउबारे टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएनन्। पाकिस्तानी कानुन मन्त्री आजम नजीर तारारले प्रान्तीय सरकार भङ्ग गरिएको पुष्टि गर्दै पत्रकार सम्मेलनमा भन्नुभयो, “मुख्यमन्त्री अफ्रिदीको कार्यकालमा उग्रवादका घटना बढेका थिए।”

पीटीआईका अध्यक्ष गोहर अली खानले सङ्कटकालीन घोषणालाई ‘अत्यन्त चिन्ताजनक र गम्भीर राजनीतिक गल्ती तथा अलोकतान्त्रिक कदम’ भने।

उनले एक्समा लेखे, “जनताले आफ्ना अधिकारविरुद्ध यस्ता कारबाही कहिल्यै स्वीकार गर्ने छैनन्।” राष्ट्रपति आसिफ अली जर्दारीले मन्त्रिपरिषद्को सिफारिसपछि ‘कानुन र व्यवस्थाको अवस्था तथा सरकारी प्रतिनिधिमण्डलसँगको वार्ता असफल भएको’ विषयमा आदेशमा हस्ताक्षर गरेको उहाँको कार्यालयले बताएको छ।

प्रधानमन्त्री सहबाज सरिफको कार्यालयले यसअघि भनेको थियो,“‘खैबर पख्तुनख्वामा बिग्रँदो कानुन र व्यवस्थाको अवस्था तथा आतङ्कवादविरुद्धको युद्धमा प्रान्तीय सरकारको जानाजानी उदासीनता’ का कारण यो निर्णय लिइएको हो।

खैबर पख्तुनख्वा खानको पार्टीको गढ हो र आइतबारको असाधारण संवैधानिक कदमअन्तर्गत त्यहाँको पीटीआई नेतृत्वको सरकारलाई किनारा लगाइनेछ।

पछि भएको समाचार सम्मेलनमा कानुन मन्त्री आजम नजीर तारारले खैबर पख्तुनख्वाको प्रान्तीय सरकार ‘स्थिति सुध्रिँदासम्म निष्क्रिय’ रहने पुष्टि गर्दै प्रान्तलाई गभर्नरद्वारा सिधै सञ्चालन गरिने व्यवस्थाको रूपरेखा प्रस्तुत गरे। यसमा सल्लाहकार परिषद्को सहयोग रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *