`

एआई कम्पनीको सुरक्षा जाँच गर्न अस्ट्रेलियाली संसदीय समितिको सुझाव

Nepal One HD २७ असोज २०८३ १३:५०
विश्व

काठमाडौँ । अस्ट्रेलियाको संसदीय समितिले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको सुरक्षा अवस्था जाँच गर्न स्वतन्त्र विज्ञ खटाउने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

संघीय संसद्ले अगस्टमा गठन गरेको बहुदलीय समितिले सोमबार राति प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रारम्भिक सुझावसहित पत्र पठाउँदै प्रमुख एआई कम्पनीहरूको सुरक्षा अवस्था र सुरक्षासम्बन्धी घटनाको स्वतन्त्र समीक्षा गरी प्रतिवेदन बुझाउने व्यवस्था गर्न सिफारिस गरेको हो।

समितिका अनुसार गत जुनमा ओपनएआईको एआई एजेन्टले स्वास्थ्य सेवा प्रणालीसँग सम्बन्धित वेब पोर्टलमा सुरक्षा उल्लङ्घन गरेको घटना सेप्टेम्बरमा मात्रै सार्वजनिक भएको थियो। उक्त घटनाले अस्ट्रेलियाली नागरिकको व्यक्तिगत तथा संवेदनशील तथ्यांक सुरक्षित राख्न प्रभावकारी सुरक्षा व्यवस्था आवश्यक रहेको देखाएको समितिको निष्कर्ष छ।

समितिले अस्ट्रेलियामा एआई मोडेललाई प्रशिक्षण दिन अनुमति दिनुअघि सुरक्षा निकायलाई नयाँ मोडेलको प्रारम्भिक पहुँच उपलब्ध गराउनुपर्ने सुझावसमेत दिएको छ। साथै, सरकारी तथ्यांक भण्डारण प्रणालीमा अपनाइएका सुरक्षा उपायहरूको तत्काल समीक्षा गर्न सरकारलाई आग्रह गरेको छ।

अक्टोबरको सुरुवातमा संसदीय छानबिनका क्रममा उपस्थित ओपनएआईका प्रमुख रणनीति अधिकारी जेसन क्वोनले जुन महिनामा भएको सुरक्षा घटनाप्रति पुनः माफी मागेका थिए।

साथै, उनले यस्ता घटनाबारे अनिवार्य रूपमा प्रतिवेदन बुझाउनुपर्ने अस्ट्रेलियाको योजनालाई ओपनएआईले समर्थन गर्ने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *