`

दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए

Nepal One HD २८ असोज २०८३ २०:१२
विश्व

काठमाडाैँ। दक्षिण कोरियाको दक्षिणपूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माणस्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ। आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ।

सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९ः४१ बजे आगो लागेको थियो । कारखानामा कार्यरत सबै १२ जना कर्मचारी सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए।

अत्यधिक ज्वलनशील पदार्थ टोल्युइन भण्डारण गरिएको बाहिरी ट्याङ्कीबाट आगो सुरु भएको अधिकारीहरूले बताएका छन् । उक्त ट्याङ्कीमा आठ हजार लिटर टोल्युइन रहेको थियो । आगोबाट उडेका झिल्काहरू नजिकैको अर्को क्षेत्रमा खस्दा त्यहाँ पनि आगलागी भएको थियो । आगो छेउछाउका रासायनिक भण्डारण ट्याङ्कीमा फैलिन सक्ने जोखिमसमेत देखिएको थियो ।

आगलागीपछि बाक्लो कालो धुवाँ र विषाक्त गन्ध फैलिएपछि आसपासको क्षेत्र खाली गराइएको थियो । सम्भावित जोखिमबाट जोगाउन नजिकैको पेट्रोकेमिकल कारखानाको निर्माणस्थलमा कार्यरत करिब सात हजार कामदारलाई बाहिर निकालिएको थियो । अन्य नजिकका उद्योग तथा व्यवसायका कर्मचारीलाई पनि सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको थियो ।

आगो नियन्त्रणमा लिन अग्निनियन्त्रण अधिकारीहरूले राष्ट्रियस्तरको आपत्कालीन परिचालन आदेश जारी गरेका थिए । त्यसपछि विशेष अग्निनियन्त्रण सवारीसाधन, हेलिकप्टर र आसपासका सहर तथा क्षेत्रबाट दुई सयभन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको थियो ।

अधिकारीहरूका अनुसार दिउँसो १ः३४ बजे आगो नियन्त्रणमा लिइएको थियो भने १ः५० बजे पूर्ण रूपमा निभाइएको थियो । घटनाको वास्तविक कारण र त्यसबाट भएको क्षतिको विवरण पत्ता लगाउन अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *