समाचारबाट सुरु भएको विवाद साइबर ब्युरोमा, हिमेश र किशोर आमनेसामने
काठमाडौं । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्त र वरिष्ठ पत्रकार किशोर श्रेष्ठबीचको विवाद अब साइबर ब्युरो पुगेको छ । एकअर्काविरुद्ध उजुरी परेपछि प्रहरीले श्रेष्ठलाई छलफलका लागि ब्युरोमा लगेको हो ।
पन्त र उनको परिवारले अर्काको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशित गरेपछि उनीहरूबीच विवाद सुरु भएको थियो । समाचारलाई लिएर सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेका बेला दुवै पक्षले शुक्रबार साइबर ब्युरोमा उजुरी दिएका थिए ।
उजुरीपछि शनिबार बिहानै प्रहरी श्रेष्ठको ललितपुरस्थित घरमा पुगेको थियो । त्यसपछि उनलाई छलफलका लागि साइबर ब्युरो लगिएको हो ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले भने श्रेष्ठलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन् । उनका अनुसार आज दुवै पक्षलाई राखेर छलफल गराउने प्रयास हुन सक्छ ।
साथै, जग्गासम्बन्धी समाचारबाट सुरु भएको विवाद दुवै पक्षको उजुरीसम्म पुगेपछि अब साइबर ब्युरोको छलफलले कुन मोड लिन्छ भन्ने चासो बढेको छ ।
