स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
काठमाडाैँ। अष्ट्रेलियाका अनुसन्धानकर्ताले डिएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्नसक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अष्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस)ले हालै जारी गरेको विज्ञप्तिअनुसार, अध्ययनमा इस्केमिक स्ट्रोकसँग सम्बन्धित १८ आनुवंशिक भिन्नता पहिचान गरिएको छ । मस्तिष्कमा रगत प्रवाह अवरुद्ध हुँदा हुने इस्केमिक स्ट्रोक सबैभन्दा सामान्य प्रकारको स्ट्रोक हो।
अध्ययनमा उच्च आनुवंशिक जोखिम समूहमा रहेका व्यक्तिमा कम जोखिम समूहका व्यक्तिको तुलनामा स्ट्रोक हुने सम्भावना २२ प्रतिशत बढी देखिएको थियो।
अनुसन्धान टोलीले हजारौँ आनुवंशिक भिन्नताबीचको सम्बन्ध विश्लेषण गर्न ‘ट्रान्सफर्मर’ नामक एआई प्रविधिको प्रयोग गरेको थियो। मोडेललाई बेलायतको युके बायोबैंक र अमेरिकाको एक ठुलो डाटाबेसबाट प्राप्त आनुवंशिक तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कका आधारमा परीक्षण गरिएको थियो।
अनुसन्धानकर्ताका अनुसार, उक्त मोडेलले स्ट्रोक भएका र नभएका व्यक्तिलाई छुट्याउन यसअघि प्रयोग गरिएका आनुवंशिक जोखिम मूल्याङ्कन उपकरणभन्दा राम्रो नतिजा दिएको छ।
अध्ययनले मस्तिष्कको बाहिरी तह अर्थात् सेरेब्रल कोर्टेक्सको तन्तुमा सक्रिय रहने इडिइएम–२ जीनलाई पनि स्ट्रोकको संवेदनशीलतामा महत्वपूर्ण योगदान दिनसक्ने जीनका रूपमा पहिचान गरेको छ। यसले स्ट्रोकको आनुवंशिक आधार बुझ्न थप अनुसन्धानका लागि नयाँ सम्भावना खोलेको अनुसन्धानकर्ताले बताएका छन्।
अनुसन्धान टोलीले अब आनुवंशिक मूल्याङ्कनलाई स्वास्थ्य तथा जीवनशैलीसम्बन्धी सर्वेक्षण, स्क्यान र मेडिकल इमेजिङलगायतका तथ्याङ्कसँग संयोजन गर्ने बहुआयामिक एआई उपकरण विकास गरिरहेको छ। यस्तो उपकरणले स्ट्रोकसहित अन्य रोगको जोखिम मूल्याङ्कनलाई थप सटिक र व्यक्तिगत बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, आनुवंशिक जोखिम मूल्याङ्कनले मात्रै कुनै व्यक्तिलाई स्ट्रोक हुन्छ वा हुँदैन भन्ने निश्चित गर्दैन । यसको प्रभावकारिता र व्यावहारिक उपयोगिता पुष्टि गर्न थप अनुसन्धान आवश्यक हुनेछ।
