ज्ञानेन्द्र शाहीको प्रश्न : दसैँमा बलिको विरोध, ईद र क्रिसमसमा किन मौन?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली समाजको मौलिक धर्म, संस्कार र संस्कृतिमाथि प्रश्न उठाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन्। दसैँ, तिहार, तीज र महाशिवरात्रिजस्ता पर्वमा परम्परामाथि आलोचना गर्नेहरूलाई प्रश्न गर्दै उनले अन्य धर्मका पर्वमा पनि समान दृष्टिकोण अपनाउनुपर्ने बताएका छन्।
शाहीले आफूले कसैको विरोध गर्न नखोजेको स्पष्ट पार्दै नेपाली समाजमा प्रचलित धार्मिक तथा सांस्कृतिक परम्परालाई सुधारको नाममा एकपक्षीय रूपमा निशाना बनाउनु उचित नभएको धारणा राखेका छन्। उनले विशेषगरी दसैँमा पशुबलि, तीजमा हरियो साडी र चुरा लगाउने परम्परा तथा महाशिवरात्रिमा भगवान् शिवको आराधनासमेत आलोचनाको विषय बन्ने गरेको उल्लेख गरेका छन्।
उनका अनुसार दसैँ–तिहारका बेला चामल अभावको विषय उठाएर टीका लगाउने परम्परामाथि प्रश्न गरिन्छ भने खसीबोका काट्ने र बलि दिने चलनको विरोध पनि हुने गरेको छ। त्यस्तै, तीजमा महिलाले हरियो साडी र चुरा लगाउने परम्परा तथा महाशिवरात्रिमा धार्मिक आस्था प्रकट गर्दा समेत आलोचनाका स्वर सुनिने गरेको उनको भनाइ छ।
शाहीले पशुबलिका नाममा जनावरलाई बजारमा घिसार्ने, खेदाउने, तड्पाउने र निर्दयी तरिकाले वध गर्ने कार्यको भने आफू पनि विरोधी रहेको बताएका छन्। पशुप्रति क्रूर व्यवहार हुन नहुने उल्लेख गर्दै उनले सुधार आवश्यक भएका धार्मिक तथा सांस्कृतिक अभ्यासलाई सुधार गर्दै लैजानुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘बलिका नाममा पशुलाई बजारमा खेदाइ–खेदाइ, तड्पाएर र निर्दयी तरिकाले काट्ने कुराको म पनि विरोध गर्छु। पशुप्रति क्रूरता हुनु हुँदैन। सुधार गर्नुपर्ने कुरा छन् भने सुधार गरौँ।’
तर, दसैँमा पशुबलिको विरोध गर्नेहरूले बकरा ईदका बेला पशु वध हुँदा र क्रिसमसका समयमा मासु खपत हुँदा पनि उस्तै रूपमा प्रश्न उठाउँछन् कि उठाउँदैनन् भन्ने शाहीको मुख्य प्रश्न छ। उनले आफू क्रिसमस वा ईदको विरोधमा नरहेको स्पष्ट पार्दै सबै धर्म र संस्कृतिलाई समान रूपमा सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
‘दसैँमा बलि दिँदा विरोध गर्नेहरू बकरा ईदमा पशु वध हुँदा र क्रिसमसका बेला मासु खपत हुँदा यिनै व्यक्तिहरूको विरोधको स्वर किन सुनिँदैन?’शाहीले प्रश्न गरेका छन्।
उनको भनाइमा कुनै पनि धर्म वा संस्कृतिको अभ्यासमा सुधार आवश्यक छ भने त्यसबारे बहस हुनुपर्छ। तर, सुधारको नाममा नेपाली समाजको मौलिक धर्म, संस्कार र संस्कृतिलाई मात्रै निशाना बनाउने प्रवृत्तिमाथि गम्भीर रूपमा विचार गर्न आवश्यक छ।
शाहीले भनेका छन्, ‘म क्रिसमस वा ईदको विरोधमा छैन। सबै धर्म र संस्कृतिको सम्मान हुनुपर्छ। तर सुधारको नाममा नेपाली समाजको मौलिक धर्म, संस्कार र संस्कृतिलाई मात्रै निशाना बनाउनु कत्तिको उचित हो?’
राप्रपा संसदीय दलका नेता शाहीको यो अभिव्यक्तिले धार्मिक स्वतन्त्रता, सांस्कृतिक परम्परा, पशु अधिकार र विभिन्न धर्मप्रति समान व्यवहार गर्नुपर्ने विषयलाई पुनः बहसमा ल्याएको छ। धार्मिक आस्था र सांस्कृतिक अभ्यासको सम्मान गर्दै पशुमाथि हुने क्रूरताको अन्त्य गर्नुपर्ने उनको धारणाले परम्परा र सुधारबीच सन्तुलन कायम गर्नुपर्ने बहसलाई समेत उजागर गरेको छ।
