विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता सञ्चालन हुनेछ।
विश्वकप छनोटको महत्वपूर्ण चरणका रूपमा रहेको यस प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। आईसीसी विश्वकप लिग-२ का अन्तिम चार टोलीसँगै क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ बाट समान दुई–दुई टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चारभित्र पर्न सफल टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन्। घरेलु मैदानमा खेल्ने अवसर पाएको नेपालका लागि पनि विश्वकप छनोटमा पुग्ने यो महत्वपूर्ण मौका हुनेछ। नेपालले यस प्रतियोगितामा शीर्ष चारभित्र स्थान बनाउन सके लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर प्राप्त गर्नेछ।
विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ टोलीबीच हुने भनिएको क्रिकेट शृङ्खलाको पूर्वनिर्धारित तालिका प्रभावित भएको छ।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा उक्त शृङ्खलाको नयाँ खेल तालिका निर्धारण गरिने जानकारी दिएका छन्।
