`

प्रचण्डलाई खत्रीको सुझाव : राजाले बनाएको देशमा बसेर राजालाई गाली नगरौँ

Nepal One HD ६ कार्तिक २०८३ १३:४०
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिप्रति टिप्पणी गर्दै इतिहासको सम्मान गर्नुपर्ने बताएका छन् ।

प्रचण्डले ‘अहिले नयाँ भनेकाहरू हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर, हाम्रो स्कुलमा पढेर, हामीलाई गाली गर्दै हिँड्छन्’ भन्ने अभिव्यक्ति दिएको प्रसङ्ग उल्लेख गर्दै सांसद खत्रीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

खत्रीले पूर्वराजा महेन्द्रको शासनकालमा निर्माण भएका संरचना र त्यसबेलाको इतिहासबाट लाभ लिँदै राष्ट्रनिर्मातामाथि नै अपमानजनक टिप्पणी गर्नु उचित नभएको आशय व्यक्त गरेका छन् । उनले इतिहासलाई बेवास्ता गर्दै आफू सत्तामा पुगेपछि मात्रै देशको सुरुवात भएको जस्तो व्यवहार गरिएको भन्दै आलोचना गरेका छन् ।

‘राजाले निर्माण गरेको देशमा जन्मेर, पढेर, राष्ट्रनिर्मातालाई नै गाली गरेर देश कंगाल बनाइयो,’ खत्रीले लेखेका छन् । उनले इतिहासमाथि आक्रमण गर्ने प्रवृत्तिकै परिणामस्वरूप अहिलेका राजनीतिक विवादहरू देखिएको तर्कसमेत गरेका छन् ।

माओवादी सशस्त्र द्वन्द्वको प्रसङ्ग उठाउँदै खत्रीले जनयुद्धको राजनीतिक यात्रामाथि पनि प्रश्न गरेका छन् । उनले ‘जनयुद्ध धनयुद्ध हुँदै सत्ता युद्धमा पुगेर कसरी अन्त्य भयो’ भन्दै माओवादी आन्दोलनको उद्देश्य र त्यसको वर्तमान अवस्थाबारे व्यङ्ग्य गरेका छन् ।

खत्रीले प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गर्दै इतिहासको सम्मान गर्न अझै पनि समय रहेको बताएका छन् । ‘अझै पनि मौका छ। इतिहासको सम्मान गरौँ,’ उनले आफ्नो टिप्पणीको अन्त्यमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *