एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी भएको प्रचण्डको आरोप
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। यद्यपि राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र मुलुकको हितसँग जोडिएका मुद्दामा भने आवश्यकताअनुसार सहकार्य गर्न सकिने उनको भनाइ छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित पार्टी जागरण अभियानको शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमाले र आफ्नो पार्टीबीच राजनीतिक दृष्टिकोण तथा कार्यशैलीमै भिन्नता रहेको दाबी गरे।
उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा रहेको उल्लेख गर्दै एमालेमाथि सुशासनको सवालमा फरक धारणा राखेको आरोप लगाए। राष्ट्रिय मुद्दामा सहकार्य गर्न सकिने भए पनि त्यसलाई पार्टी एकतासँग जोडेर हेर्न नहुने उनले स्पष्ट पारे।
‘राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र देशको हितका लागि आवश्यक परे जोसँग पनि सहकार्य गर्न तयार छौँ। तर यसको अर्थ एमालेसँग पार्टी एकता हुन्छ भन्ने होइन,’ प्रचण्डले भने।
उनले पार्टीको इतिहास, राजनीतिक पृष्ठभूमि र वैचारिक भिन्नताका विषयमा गम्भीर समीक्षा नगरी एकताको सम्भावना नरहेको बताए।
प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको गठनलाई माओवादी आन्दोलनको अन्त्य नभई नयाँ राजनीतिक रूपान्तरणका रूपमा व्याख्या गरे। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत २६ वटा साना–ठूला कम्युनिस्ट घटक एकीकृत भएर नयाँ पार्टी बनेको उल्लेख गर्दै उनले माओवादी विचार र भावनासमेत यही पार्टीमा समाहित रहेको दाबी गरे।
‘माओवादी र एकीकृत समाजवादीसहित २६ वटा साना–ठूला घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको हो। यो विघटन नभई रूपान्तरण हो। नामभन्दा काम महत्त्वपूर्ण भएकाले हामी सबैका विचार र भावनालाई समेटेर अघि बढ्ने संकल्पमा छौँ,’ उनले भने।
उनले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धनले मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन सक्ने भन्दै आफूहरूले यसअघि नै सचेत गराएको पनि बताए। सुशासन, सामाजिक न्याय र समृद्धिका लागि काम गरिरहेका बेला संसद्का दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाइएको उनको भनाइ थियो।
लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सरकार सञ्चालन गर्ने अभ्यासमाथि प्रश्न उठाउँदै प्रचण्डले तत्कालीन सत्तापक्षले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाए।
यसैबीच, कम्युनिस्ट आन्दोलनको भविष्यबारे उठ्ने गरेका प्रश्नलाई उनले नयाँ विषय नभएको बताए। २०४६ सालको जनआन्दोलनपछि पनि कम्युनिस्ट आन्दोलन कमजोर हुने भाष्य निर्माण गरिएको स्मरण गर्दै उनले परिवर्तनका लागि आफ्नो पार्टीले विगतदेखि संघर्ष गर्दै आएको उल्लेख गरे।
सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रभावका बीच कम्युनिस्ट आन्दोलनको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला प्रचण्डले आलोचनामा अल्झिनुभन्दा पार्टीको लक्ष्य र काममा केन्द्रित हुनुपर्ने धारणा राखे।
