`

बलिउडका ५०० भन्दा बढी फिल्मका गोप्य कागजात लिक, पटकथादेखि सम्झौतासम्म सार्वजनिक

Nepal One HD ९ कार्तिक २०८३ १३:२०
विश्व
एजेन्सी । भारतीय फिल्म उद्योगमा ठूलो डेटा चुहावटको घटना सार्वजनिक भएको छ । केन्द्रीय चलचित्र प्रमाणन बोर्ड (सीबीएफसी) को अनलाइन पोर्टलबाट ५०० भन्दा बढी फिल्मसँग सम्बन्धित गोप्य तथा महत्त्वपूर्ण कागजात बाहिरिएको हो ।

बाहिरिएको कागजातमा फिल्मका पटकथा, प्रमाणपत्रसम्बन्धी विवरण, व्यावसायिक कारोबारका कागजात र विभिन्न सम्झौताहरू रहेको बताइएको छ । सीबीएफसीले फिल्मलाई सार्वजनिक प्रदर्शनका लागि आवश्यक प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया ‘ई-सिनेप्रमाण’ नामक अनलाइन पोर्टलमार्फत सञ्चालन गर्दै आएको छ ।

उक्त पोर्टलमा रहेका केही कागजातमा अनधिकृत पहुँच बनाएर तिनलाई इन्टरनेट अर्काइभमा डाउनलोड गर्न मिल्ने गरी राखिएको पाइएको छ । तर, डेटा चुहावट कसरी भयो र यसबाट कति सामग्री प्रभावित भयो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।

सार्वजनिक भएका सामग्रीमा फिल्मका पटकथा मात्रै नभई सीबीएफसीका निर्देशन, व्यावसायिक कारोबारका विवरण र विभिन्न सम्झौतासमेत समावेश रहेको जनाइएको छ । केही कागजातमा फिल्म वितरणसम्बन्धी सम्झौता तथा प्रमाणपत्र प्राप्त गर्न लाग्ने शुल्कको विवरणसमेत रहेको बताइएको छ ।

त्यस्तै, फिल्मका पटकथा र व्यावसायिक सम्झौता निर्माता तथा वितरकका लागि संवेदनशील सामग्री हुन् । यस्ता कागजात सार्वजनिक हुँदा फिल्मको कथावस्तु समयअगावै बाहिरिने, वितरण योजनामा असर पर्ने र व्यावसायिक वार्तामा समस्या उत्पन्न हुने जोखिम रहन्छ । यसले सम्बन्धित पक्षको गोपनीयतामाथि समेत प्रश्न उठाएको छ ।

घटनाबारे सीबीएफसीले छानबिन सुरु गरेको बताइएको छ । यस विषयमा भारतीय साइबर सुरक्षा निकायलाई समेत जानकारी गराइएको छ ।

साथै, डेटा चुहावटको वास्तविक कारण, यसमा संलग्न पक्ष र प्रभावित कागजातको पूर्ण विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *