`

मंसिरमा जागरण अभियान, पुस-माघभित्र उम्मेदवार छान्ने काम सक्न गगन थापाको निर्देशन

Nepal One HD १० कार्तिक २०८३ १४:१२
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मंसिर महिनालाई पार्टी जागरणको महिना बनाउन नेताकार्यकर्तालाई आग्रह गरेका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संगठनलाई प्रभावकारी बनाउने र जनतासँगको सम्बन्ध सुधार्ने कामलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

थापाले कांग्रेसका लागि अहिले गुमेको मतभन्दा जनताको विश्वास पुनःस्थापित गर्नु मुख्य चुनौती रहेको बताए। जनताको विश्वास फर्काउन सके मत स्वतः प्राप्त हुने उनको भनाइ थियो।

‘हामीले गुमाएको मत होइन, हामीले गुमाएको विश्वास हो। विश्वासलाई पुनःस्थापित गरेपछि मत विश्वासलाई पछ्याउँदै आउँछ,’ उनले भने, ‘जनताको विश्वास पुनःस्थापित गर्न संगठनका प्रत्येक सदस्यको मेहनत र पार्टीप्रतिको जनधारणा सुधार दुवै आवश्यक छन्।’

कांग्रेसले आफ्नो छवि र जनतामा बनेको धारणाको गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिँदै थापाले पार्टीप्रति विश्वास घट्नुका आन्तरिक तथा बाह्य कारण पहिचान गर्नुपर्ने बताए। विगतका निर्वाचनमा पराजय भोगे पनि कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाको पक्षमा दृढतापूर्वक काम गरेको उनको भनाइ थियो।

थापाले आगामी १२ गते शपथपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टीको भावी योजना तय गर्ने जानकारी दिए। जनतासँगको सम्बन्ध बलियो बनाउँदै पार्टीलाई स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्नुपर्ने उनले बताए।

उम्मेदवार छनोट प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले यसपटक अन्तिम समयमा टिकट दिने वा खोस्ने पुरानो प्रवृत्ति अन्त्य गरिने बताए। पार्टी विधानअनुसार उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइने र सदस्यता अद्यावधिक गर्ने कामसमेत पूरा गरिने उनको भनाइ थियो।

‘पहिलाको जस्तो निर्वाचनको बेलामा दुई दिन, दुई घण्टा अगाडि टिकट लिने, खोस्ने कुनै कुरा हुँदैन। पार्टीको विधानमा व्यवस्था गरेका छौँ,’ उनले भने।

थापाका अनुसार उम्मेदवार छनोटको प्रारम्भिक काम पुस–माघभित्रै सक्ने योजना छ। प्रारम्भिक सूचीमा रहेका उम्मेदवारमध्ये पार्टीका सदस्यले डिजिटल माध्यमबाट मतदान गरी छनोट गर्ने व्यवस्था गरिने उनले बताए। त्यसरी छनोट भएका उम्मेदवारलाई निर्वाचनभन्दा दुई–तीन महिनाअघि नै मैदानमा पठाउने तयारी रहेको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *