`

विराटनगरलाई १५८ रनको लक्ष्य

रामचन्द्र जोशी ११ कार्तिक २०८३ १४:१९
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई १५८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३  विकेट गुमाएर १५७ रन बनाएको हो।

चितवनका लागि ओपनिङ ब्याट्सम्यान डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा अर्धशतक पूरा गर्दै जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने। मलानले उत्कृष्ट ब्याटिङ गरे पनि टोलीलाई ठूलो योगफलसम्म पुर्‍याउन सकेनन्।

चितवनका कप्तान रवि बोपाराले ३२ रनको योगदान दिए भने डीआर मुस्लीले २९ रन बनाए। यी ब्याट्सम्यानको योगदानमा चितवनले विराटनगरसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो।

विराटनगरका लागि चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले समान एक–एक विकेट लिए। रसेलले मलानलाई आउट गर्दै महत्त्वपूर्ण सफलता दिलाए।

विराटनगरका नेपाली बलर भने विकेटविहीन रहे। कप्तान सन्दीप लामिछानेले चार ओभरमा २३ रन खर्चिए पनि विकेट लिन सकेनन्। प्रतीश जिसीले तीन ओभरमा २२ रन दिए भने शुभम रञ्जनेले एक ओभरमा १७ रन खर्चिए।

यसअघि टस जितेको विराटनगरले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। अब १५९ रनको लक्ष्य पछ्याउँदै विराटनगर मैदानमा उत्रिनेछ। पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने दुवै टोलीको लक्ष्य छ।

चितवनले दिएको लक्ष्य पछ्याउँदा विराटनगरका ब्याट्सम्यानले कस्तो प्रदर्शन गर्छन् भन्नेले खेलको नतिजा निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *