सङ्कटको डरले बेलायती बजारमा हाहाकार
एजेन्सी। बेलायत सरकारले सम्भावित सङ्कटको सामना गर्न घरमै आवश्यक सामग्रीको जोहो गर्न नागरिकलाई आग्रह गरेपछि बजारमा अत्यावश्यक वस्तुको बिक्री ह्वात्तै बढेको छ । डिब्बाबन्द खानेकुरा, रेडियो, टर्चलाइट र पावर बैंक किन्न उपभोक्ताको चासो बढेको हो ।
बीबीसीका अनुसार सुपरमार्केट चेन आइसल्यान्डमा सप्ताहान्तमा डिब्बाबन्द खाद्यवस्तुको बिक्री ४० प्रतिशतले बढेको छ । सरकारी आग्रहपछि उपभोक्ताले सम्भावित आपत्कालका लागि सामान सञ्चय गर्न थालेको कम्पनीको भनाइ छ । बोतलको पानीको बिक्री पनि बढेको छ । यद्यपि, त्यसको मौज्दातमा तत्काल समस्या नरहेको कम्पनीले जनाएको छ ।
रेडियोको बिक्रीमा पनि उल्लेख्य वृद्धि देखिएको छ । रोबर्ट ड्यासमा अघिल्लो साताको तुलनामा रेडियोको बिक्री १६० प्रतिशतले बढेको छ । त्यस्तै, म्याप्लिनमा रेडियोको बिक्री ९२ प्रतिशत, टर्चलाइटको २८४ प्रतिशत र पावर बैंकको बिक्री १०६ प्रतिशतले उकालो लागेको छ । म्याप्लिनले गत साताको बिक्रीलाई अघिल्लो महिनाको सोही अवधिसँग तुलना गरेको हो ।
म्याप्लिनका प्रबन्ध निर्देशक ओली मार्सलका अनुसार सरकारले आपत्कालीन तयारीसम्बन्धी अभियान सार्वजनिक गरेको केही घण्टामै उपभोक्ता आवश्यक सामान किन्न पसल पुग्न थालेका थिए । तीन दिनमै टर्चलाइटको बिक्री झन्डै चार गुणा पुगेको थियो भने रेडियोको बिक्री लगभग दोब्बर भएको थियो ।
विद्युत् आपूर्ति बन्द हुँदा पनि सूचना प्राप्त गर्न र सञ्चार सम्पर्क कायम राख्न सकिने उपकरणप्रति उपभोक्ताको आकर्षण बढेको मार्सलले बताए । हातले घुमाएर चार्ज गर्न मिल्ने रेडियो, टर्चलाइट र पावर बैंक आपत्कालीन अवस्थामा उपयोगी हुने उनको भनाइ छ ।
बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले अक्टोबर २२ मा सम्भावित सङ्कटलाई ध्यानमा राख्दै प्रत्येक व्यक्तिका लागि प्रतिदिन तीन लिटर पानीको व्यवस्था गर्न नागरिकलाई आग्रह गरेका थिए । उनले घरमा डिब्बाबन्द खानेकुरा, शिशुका लागि आवश्यक आहार, ब्याट्रीबाट चल्ने टर्चलाइट र मोबाइल चार्ज गर्ने उपकरण राख्न पनि सुझाव दिएका थिए ।
साइबर आक्रमण, चरम मौसमी घटना, बाढी, विद्युत् कटौती तथा खानेपानीका पाइप फुट्ने घटनाले अत्यावश्यक सेवामा अवरोध पुर्याउन सक्ने सरकारको आकलन छ । यस्तो अवस्थामा घरमै आधारभूत सामग्रीको व्यवस्था हुँदा परिवारलाई सहज हुने र देशको सङ्कट सामना गर्ने क्षमता बढ्ने मन्त्री स्ट्रिटिङको भनाइ छ ।
सरकारी अभियानको प्रभाव ठूला सुपरमार्केटमा मात्र सीमित छैन । आपत्कालीन तयारीका सामग्री बेच्ने स्वतन्त्र पसलहरूमा समेत कारोबार अस्वाभाविक रूपमा बढेको छ । ‘सार्जेन्ट प्रिपर्स’का जोस प्रिङ्गलले सरकारी अभियान सुरु भएपछि आफ्नो अनलाइन पसलको बिक्री दस गुणाले बढेको बताए । उनका अनुसार ग्राहकले सबैभन्दा बढी हातले घुमाएर चार्ज गर्न मिल्ने रेडियो किनेका छन् ।
त्यस्तै, ‘प्रिपर्स सप यूके’का संस्थापक लिंकन माइल्सले सरकारी घोषणापछि आफ्नो पसलको बिक्री ६५० प्रतिशतले बढेको जानकारी दिए । नियमित विद्युत् आपूर्ति वा अन्य सेवामा निर्भर नभई प्रयोग गर्न सकिने सामग्री अहिले उपभोक्ताको प्राथमिकतामा परेको उनको भनाइ छ ।
बेलायत सरकारले सुरु गरेको ‘बी रेडी’ अभियानले सम्भावित आपत्काल आउनुअघि नै घरपरिवारलाई आवश्यक सामग्री जुटाउन प्रेरित गरेको छ । सरकारी आग्रहपछि उपभोक्ताले सामान सञ्चय गर्न थालेसँगै आपत्कालीन तयारीका सामग्रीको माग बढेको छ ।
