दशैं बिदाले रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
काठमाडौं । दशैंको लामो बिदाका कारण रक्तदान कार्यक्रम घटेपछि देशभर रगतको अभाव देखिएको छ । अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढिरहेको तर रक्तसञ्चार केन्द्रमा मौज्दात सकिँदै गएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
दशैं बिदासँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम हुन सकेका छैनन् । अर्कोतर्फ, अस्पतालमा बिरामीका लागि रगतको माग बढिरहेको छ । यसले गर्दा आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भएको रेडक्रसले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र एचएको मौज्दात सकिएको छ । मौज्दात सकिँदा बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन समस्या भएको छ ।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा बिदा हुँदा रक्तदान कार्यक्रम घटेका छन् । रगतको सहज व्यवस्थापनमा कठिनाइ भइरहेको भन्दै रेडक्रसले स्वयंसेवी रक्तदाता र विभिन्न संघसंस्थालाई रक्तदान अभियानमा सहभागी हुन आह्वान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ ।
रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१५३८८४८५ र ०१५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ । त्यस्तै, रेडक्रसको निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ ।
