`

दसैँमै फुल्यो तिहारका लागि लगाएको सयपत्री, किसानको लगानी डुब्ने चिन्ता [फोटो-फिचर]

Nepal One HD १२ कार्तिक २०८३ १५:५४
फोटोफिचर

तनहुँ । तिहारलाई लक्षित गरेर लगाइएको सयपत्री फूल दसैँमै फुलेपछि तनहुँका किसान चिन्तित बनेका छन्। ढकमक्क फुलेको फूल तिहारसम्म टिक्ने हो कि होइन भन्ने अन्योलले किसानलाई सताएको छ। समयमै बजार नपाए फूल सुक्ने र लगानी खेर जाने उनीहरूको चिन्ता छ।

तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरामा चण्डेश्वरी फलफूल तथा तरकारी कृषक समूहले व्यावसायिक रूपमा लगाएको सयपत्री फूल तिहार आउन दुई साताअघि नै फुलेको हो। अहिले बारीभरि फूल फुले पनि तिहारसम्म बिक्री गर्न नपाइने हो कि भन्ने डर किसानमा छ।

स्थानीय किसानले सामूहिक र व्यक्तिगत गरी १६ रोपनी क्षेत्रफलमा सयपत्री खेती गरेका छन्। समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा मात्रै फूल खेती गरिएको थियो। त्यसबाट चार लाख रुपैयाँभन्दा बढी आम्दानी भएपछि यस वर्ष खेती विस्तार गरिएको हो।

तर, यसपटक फूल अपेक्षाभन्दा छिटो फुलेपछि किसानलाई आम्दानीभन्दा लगानी जोगाउने चिन्ता बढेको छ। अहिले फुलेको फूल एक सातासम्म बोटमै राख्ने र त्यस अवधिमा नबिग्रिए बजारमा पठाउने उनीहरूको योजना छ। स्थानीय बजारको खुद्रा माग धान्न भने किसानले थोरै परिमाणमा फूल टिपेर बिक्री गरिरहेका छन्।

समूहकी अध्यक्ष रानाले तिहार ढिलो परेकाले फूल चाँडै फुलेको बताइन्। भारतबाट गत वर्षको तुलनामा कम फूल आयात भए स्थानीय उत्पादनले बजार पाउने आशा किसानमा छ। आयातित फूलको चाप बढे आफ्नै उत्पादन बिक्री गर्न कठिन हुने उनको चिन्ता छ।

विदेशबाट आयात हुने फूललाई प्रतिस्थापन गर्ने उद्देश्यले किसानले कोदो, मकै र बोडी लगाउने बारीमा समेत सयपत्री खेती विस्तार गरेका हुन्। गत वर्ष राम्रो आम्दानी भएपछि उत्साहित भएर खेती बढाएका किसान यसपटक भने फूलको समय र बजारको तालमेल नमिल्दा समस्यामा परेका छन्।

तनहुँका म्याग्दे र आँबुखैरेनी गाउँपालिकासहित शुक्लागण्डकी, भीमाद र व्यास नगरपालिकाका किसानले पनि व्यावसायिक रूपमा सयपत्री फूल खेती गर्दै आएका छन्।

तिहारको मागलाई लक्षित गरी गरिएको खेतीमा फूल चाँडै फुल्दा किसानको आम्दानी बजारको माग र फूलको टिकाउ अवधिमा निर्भर बनेको छ।


 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *