ट्रम्पको टिप्पणीले कूटनीतिप्रति अमेरिकी अनादर उजागर गर्यो : इरान
काठमाडाैँ । इरानसँगको शान्तिसम्बन्धी समझदारीलाई ‘समयको बर्बादी’ संज्ञा दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीले कूटनीतिप्रति वासिङ्टनको अनादर उजागर गरेको इरानले आरोप लगाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले बुधबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो आरोप लगाएका हुन्।
ट्रम्पले सोमबार मिसिसिपीमा आयोजित एक र्यालीमा इरानसँग भएको युद्धविरामप्रति आफू सन्तुष्ट नरहेको बताएका थिए। उनले भने, “हामीले इरानसँग एउटा सानो युद्धविराम गरेका थियौँ, जुन मलाई कहिल्यै खासै मन परेको थिएन । मैले त्यसलाई समयको बर्बादी नै ठानेको थिएँ । तर, कहिलेकाहीँ विज्ञहरूको कुरा सुन्नुपर्ने हुन्छ ।”
ट्रम्पको उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै बाघाईले कूटनीतिप्रति अमेरिकी प्रशासनको अनादर फेरि उजागर भएको बताए।
“राष्ट्रपति ट्रम्पले उक्त समझदारीमा आफूलाई कहिल्यै विश्वास नभएको र त्यसलाई समयको बर्बादी ठानेको स्वीकार्नुले अमेरिकी कूटनीतिक प्रतिबद्धताहरूको खोक्रोपन उजागर गरेको छ,” उनले लेखेका छन्।
अमेरिकाको आफ्ना प्रतिबद्धताबाट पछि हट्ने र अन्तरराष्ट्रिय दायित्व आफूलाई असुविधाजनक लाग्नेबित्तिकै तिनलाई त्याग्ने लामो इतिहास रहेको पनि बाघाईले आरोप लगाए।
उनले युरोपेली मुलुक र वासिङ्टनका अन्य समर्थकलाई अमेरिकी गलत कार्यको बचाउ गरिरहने तथा उसलाई जवाफदेहिताबाट उन्मुक्ति दिलाउने कुनै औचित्य नरहेको बताए।
