आईजीपी कार्कीविरुद्ध खगेन्द्र सुनारको मोर्चाबन्दी, लेखा समितिदेखि संसद्सम्म दबाब
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध रास्वपा सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आएका छन्।
निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोसाक र जुत्तामा अनियमितता भएको आरोपमा छानबिनको माग गर्दै आएका सुनारले महानिरीक्षक कार्कीलाई पदबाट हटाउनुपर्ने अभिव्यक्तिसमेत दिएका छन्।
गत २१ फागुनको निर्वाचनमा खटिएका अस्थायी प्रहरीका लागि खरिद गरिएका सामग्रीमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो। उजुरीमा कार्कीका अतिरिक्त तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठलगायतमाथि अनुसन्धान गर्नुपर्ने माग गरिएको थियो।
२७ साउनमा सार्वजनिक लेखा समितिको बैठकमा सुनारले उक्त विषय चर्को रूपमा उठाए। तत्काल छानबिन हुनुपर्ने माग राखेका उनी अन्य सांसदले समर्थन नगरेको भन्दै बैठकबीचमै बाहिरिएका थिए। त्यसपछि महानिरीक्षक कार्कीले पनि असन्तुष्टि व्यक्त गरेका थिए।
उक्त घटनापछि सुनारले संसद् र सामाजिक सञ्जालमार्फत कार्कीमाथि छानबिनको माग दोहोर्याइरहे। २६ भदौमा संसद्को शून्य समयमा बोल्दै उनले कार्कीलाई बर्खास्त गर्नुपर्ने माग फेरि उठाए।
सुनारको निरन्तर दबाबपछि सार्वजनिक लेखा समितिले १६ असोजमा रास्वपा सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय उपसमिति गठन गरी प्रहरी पोसाक खरिद प्रकरण छानबिन अघि बढाएको थियो।
यता,खगेन्द्र-आईजीपी टकरावको तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न नपाएको असन्तुष्टिसँग उनको गतिविधिलाई जोडेर चर्चा हुने गरेको छ।
यद्यपि, अहिले प्रहरी पोसाक खरिद प्रकरणको छानबिन र महानिरीक्षकलाई हटाउनुपर्ने माग दुवै विषय चर्चामा छन्।
