`

अमेरिकामा पुगेर फ्लेभियोले गरे आफू राष्ट्रपति निर्वाचित भएको दाबी

Nepal One HD १३ कार्तिक २०८३ १३:५४
विश्व

काठमाडौं । ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू राष्ट्रपति निर्वाचित भएको दाबी गरेका छन् । उनले ब्राजिलको निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाबाटै विपक्षी अभियानको नेतृत्व गर्ने बताएका छन् ।

ब्राजिलको दोस्रो चरणको निर्वाचनमा भने वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा विजयी भएका थिए ।

४५ वर्षीय फ्लेभियो बुधबार निजी विमानमार्फत मियामी नजिकै पुगेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै आए पनि फ्लेभियोको राष्ट्रपति पदसम्बन्धी दाबीमा आफू संलग्न नहुने बताएका छन् ।

त्यस्तै, फ्लेभियोले पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा लुलासँग पराजित भएका थिए । निर्वाचन परिणाम उल्ट्याउने प्रयासमा असफल भएपछि उनी अहिले घरमै नजरबन्दमा छन् ।

फ्लेभियोले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सामना गरिरहेका छन् । संसदीय संरक्षणको अवधि सकिन लागेपछि उनलाई राहदानी बुझाउन निर्देशन दिइएको थियो । तर, उनी अर्जेन्टिना र इक्वेडर हुँदै अमेरिका पुगेको बताइएको छ ।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार फ्लेभियोका परिवारका सदस्यहरूले आवश्यक जाँचपछि आप्रवासन कानुनअनुसार अमेरिका प्रवेशको अनुमति पाएका छन् ।

ब्राजिलका राष्ट्रपति लुलाले फ्लेभियोको देश छाड्ने निर्णयलाई ‘लाजमर्दो’ भन्दै आलोचना गरेका छन् । देश छाडेर जाने व्यक्तिसँग लुकाउनुपर्ने केही कुरा हुन सक्ने उनको टिप्पणी थियो ।

साथै, ब्राजिलका कानून कार्यान्वयन अधिकारीहरूले बुधबारसम्म फ्लेभियोलाई औपचारिक रूपमा फरार घोषणा नगरिएको स्पष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *