`

व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

Nepal One HD १४ कार्तिक २०८३ ११:१२
बिशेष

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

भट्टको रिट सुनुवाइका लागि न्यायाधीशद्वय सारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासमा पेसी तोकिएको छ। भट्टका तर्फबाट उनका बुवा चतुर्भुज भट्टले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।

यसअघि गत असोज ८ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै तीन दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीका नाममा आदेश जारी गरेको थियो।

सर्वोच्चले विशेष अदालत, प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोलगायतका निकायलाई लिखित जवाफ बुझाउन निर्देशन दिएको थियो। साथै, विपक्षीका नाममा म्याद सूचना पठाई जवाफ प्राप्त भए वा म्याद अवधि समाप्त भए पनि नियमानुसार पेस गर्न आदेश दिइएको थियो।

त्यसैगरी, सर्वोच्च अदालतमा विचाराधीन रहेका ‘दीपक भट्ट विरुद्ध नेपाल सरकार’ सम्बन्धी अन्य मुद्दासमेत अवलोकनका लागि सँगै राखेर पेस गर्न आदेश भएको थियो।

विशेष अदालतको आदेशमा थुनामा रहेका भट्टको रिहाइ माग गर्दै परेको रिटमा सर्वोच्चले अब के निर्णय गर्छ भन्ने चासो बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *