अनलाइन ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार
काठमाडौं । दक्षिणपूर्वी एसियाली मुलुकमा सञ्चालित अनलाइन ठगी केन्द्रमा फसेका ८६० जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डका विभिन्न स्थानमा सञ्चालित यस्ता केन्द्रबाट उनीहरूको उद्धार गरिएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उद्धार गरिएका नेपालीको विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार कम्बोडियाबाट ७३३, म्यानमारबाट ११३, लाओसबाट ८ र थाइल्यान्डबाट ६ जना नेपालीको उद्धार गरिएको छ।
वैदेशिक रोजगारीको प्रलोभनमा परेर दक्षिणपूर्वी एसिया पुगेका नेपालीलाई अनलाइन ठगी, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा लगाउने गरेको पाइएको छ। कतिपयलाई जबर्जस्ती काममा लगाउने, राहदानी नियन्त्रणमा लिने र काम छाड्न खोज्दा बन्धक बनाउने गरिएको मन्त्रालयले जनाएको छ।
उद्धारका घटना भइरहे पनि यस्ता केन्द्रमा नेपाली नागरिक फस्ने क्रम रोकिएको छैन। पीडित तथा उनीहरूका आफन्तले उद्धारका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र सम्बन्धित नेपाली दूतावासमा सम्पर्क गरिरहेका छन्। सम्पर्कमा आएका नागरिकलाई सुरक्षित रूपमा उद्धार गरी स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, कम्बोडियामा विभिन्न कसुरमा पक्राउ परेका ७६ जना नेपाली अझै जेलमा छन्। उनीहरूमध्ये ३८ जना अनलाइन ठगी र ३८ जना संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेको मन्त्रालयले जनाएको छ। उनीहरूलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयले वैदेशिक रोजगारीका नाममा दिइने आकर्षक तर झुटा प्रलोभनमा नपर्न नेपाली नागरिकलाई आग्रह गरेको छ। भ्रमण भिसामा विदेश गएर रोजगारी गर्ने तथा गैरकानुनी गतिविधिमा संलग्न हुने जोखिमबाट बच्न पनि मन्त्रालयले सचेत गराएको छ।
साथै, उद्धार तथा स्वदेश फिर्ती गराइदिने भन्दै रकम माग्ने व्यक्तिहरूबाट सावधान रहन र विदेश जानुअघि रोजगारीको आधिकारिकता तथा कानुनी प्रक्रिया सुनिश्चित गर्न मन्त्रालयले आग्रह गरेको छ।
