सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात,पदयात्रीलाई सतर्क रहन आग्रह
सङ्खुवासभा। सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
आज दिउँसोदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्यस्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताउनुभयो ।
उक्त क्षेत्रमा थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरिएको हो ।
वर्षा र हिमपात मकालु आधार शिविरतर्फ लागेको १० विदेशी नागरिकसहित ३० जना मकालु गाउँपालिका-२ टासिगाउँमै रोकिएको मकालु-२ का वडाध्यक्ष छोपाल शेर्पाले बताउनुभयो ।गातारको वर्षाका कारण याङ्लेखर्क, शिवधारा र मकालु आधार शिविर क्षेत्रमा तथा सभापोखरीसहित उच्च हिमाली हिमपात भइरहेको छ ।
