`

सत्याग्रहमा बसेका डा. केसीलाई बोल्नसमेत कठिन, अस्पताल लगियो

Nepal One HD १६ कार्तिक २०८३ ८:१५
बिशेष

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पताल लगिएको छ। सत्याग्रह सुरु गरेको तेस्रो दिनमै स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि शनिबार उनलाई उपचार तथा स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याइएको हो।

पानी मात्र पिएर सत्याग्रह गरिरहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको छ भने उनलाई बोल्नसमेत कठिनाइ हुन थालेको बताइएको छ। लगातारको अनशनका कारण उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि थप जोखिम हुन नदिन अस्पताल लगिएको हो।

केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको जानकारी पाएपछि इलाम अस्पतालका स्वास्थ्यकर्मीको टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो। स्वास्थ्यकर्मीको टोलीले सत्याग्रहस्थलमै उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेपछि थप उपचार र निगरानी आवश्यक देखिएको भन्दै एम्बुलेन्समार्फत अस्पताल पुर्‍याएको हो।

अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएपछि स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ। अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार तथा निरन्तर निगरानीको व्यवस्था मिलाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *