`

अर्नब चक्रवातको प्रभाव हट्यो, अब मौसम खुल्दै जाने

Nepal One HD १६ कार्तिक २०८३ ११:३९
समाचार
काठमाडौ । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै मौसममा सुधार आउन थालेको छ। आगामी केही दिन देशभरको मौसम क्रमशः सफा हुँदै जाने र घाम लाग्ने मौसम पूर्वानुमान गरिएको छ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै मौसममा उल्लेखनीय सुधार देखिएको छ। पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक-दुई स्थानमा छिटपुट वर्षा भए पनि अन्य क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन।

आइतबार बिहान तराईका विभिन्न स्थानसँगै काठमाडौँ र पोखरालगायतका उपत्यकामा बाक्लो हुस्सु तथा कुहिरो लागेको थियो। तर, घाम लागेसँगै हुस्सु र कुहिरो क्रमशः हट्दै गएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा देखिएको हुस्सु पनि छिट्टै हट्ने विभागले जनाएको छ।

आइतबार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि अधिकांश स्थानको मौसम सफा रहनेछ। पहाडी र हिमाली क्षेत्रका निकै थोरै स्थानमा मात्रै हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए। रातिको समयमा पूर्वी भूभागको मौसम थप सफा हुने र पश्चिमका थोरै स्थानमा मात्र हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

सोमबार पनि देशभरको मौसम सामान्यतया सफा रहने अनुमान छ। बिहान तराई, उपत्यका र खोँचहरूमा हुस्सु लागे पनि आइतबारको तुलनामा कम हुने र छिट्टै हट्ने विभागको पूर्वानुमान छ। दिउँसो हिमाली, पहाडी तथा लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि साँझदेखि मौसम थप खुल्दै जानेछ।

चक्रवातको प्रभाव पूर्ण रूपमा हट्दै गएपछि मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनका लागि हरियो रङको चेतावनी जारी गरेको छ। हरियो सङ्केतले मौसमका कारण कुनै उल्लेखनीय जोखिम नरहेको जनाउँछ।

यससँगै केही दिनदेखि वर्षा र बदलीका कारण प्रभावित जनजीवन अब क्रमशः सहज बन्ने अपेक्षा गरिएको छ। देशका अधिकांश स्थानमा घाम लाग्ने र मौसम अनुकूल हुँदै जाने भएकाले सर्वसाधारणले पनि राहत महसुस गर्ने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *