`

मङ्गलामा बाढीपहिरोको वितण्डा, १७ घर पूर्ण रूपमा क्षतिग्रस्त

Nepal One HD १६ कार्तिक २०८३ २१:१०
समाचार

म्याग्दी। गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको विपद्का कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ परिवार प्रभावित भएका छन् ।गाउँपालिकाले सङ्कलन गरेको विवरणअनुसार पाँच वटा वडा रहेको मङ्गलामा १७ घरमा पूर्ण क्षति, ७७ घरमा उच्च र ७२ घर जोखिममा परेका हुन् ।

पहिरो, बाढी र कटानका कारण क्षति पुगेका परिवारलाई अस्थायी बसोबास, राहत वितरण, क्षतिको विवरण सङ्कलन र प्रहरी मुचुल्का तयार पारी पुनःनिर्माण, प्रवलीकरण र पुनःस्थापनाको प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गला-५ छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं. ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा नक्साङ्कन गरिएको छ ।

विपद्का कारण ५७२ रोपनी खेतबारीमा क्षति पुगेको छ भने १२ वटा गोठ पूर्ण र १८ वटामा आंशिक क्षति पुगेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष रोकाका अनुसार एक-एक वटा ग्रिनहाउस र पोखरीमा क्षति पुगेको छ ।

घरवास गुमाएका र विस्थापितहरूलाई सुरक्षित गाउँमा रहेका आफन्त तथा छिमेकीका घरमा व्यवस्थापन गरिएको मङ्गला–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताउनुभयो । उहाँका अनुसार मङ्गलामा रहेका २० वटा सडक पहिरोले क्षतिग्रस्त भएका छन् ।

सिँचाइ र खानेपानी आयोजनामा पुगेको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ । छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीले कटान गरेर जोखिम बनाएको छ ।

पहिरोका कारण विस्थापित भएका मङ्गला-३ बरङ्जाका गङ्गाप्रसाद पुर्जाले पुनःनिर्माणको प्रतीक्षामा रहेको बताउनुभयो । अर्का विस्थापित सुकमाया पुर्जाले बस्तीमाथिको सडकबाट आएको भलका कारण पहिरोबाट विस्थापित भएर गोठमा बस्नुपरेको बताउनुभयो ।

आरवाङका कृष्णलाल सापकोटाले तत्काल बस्ती संरक्षण र पहिरो नियन्त्रणको काम नगरे आगामी बर्खामा थप क्षति हुने बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *