`

कर्णालीले पदक जित्ने तयारी गरोस्, बजेटको समस्या हुँदैन : मुख्यमन्त्री शाही

Nepal One HD १६ कार्तिक २०८३ २१:२४
राजनीति

कर्णाली, १५ कात्तिक : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले उत्कृष्ट खेलाडी छानेर पदक जित्ने तयारीमा जुट्न कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई आग्रह गर्नुभएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सम्बन्धमा बसोबास व्यवस्थापन उपसमितिद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णाली सामु प्रतियोगिता जटिल चुनौति र स्वर्णीम अवसर दुवै भएको बताउनुभयो । उहाँका अनुसार यसलाई सबै मिलेर चुनौतीको सामना तथा अवसरको उपयोग गर्न एकजुट भएर अगाडि बढ्नुपर्छ ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “तपाईहरु निष्पक्ष भएर राम्रा खेलाडी छनोट गर्नुस् । राम्रा प्रशिक्षक ल्याउनुस् र पदक जित्ने तयारीमा लाग्नुस्, बजेटको कुनै समस्या हुँदैन । माग भन्दा बढी बजेट दिन प्रदेश सरकार तयार छ ।”

दशौँ राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि प्रदेश सरकार, परिषद् वा सरकारी निकायले मात्र सम्भव नभएकाले सबै सरोकारवालाको उत्तिकै सहयोग र सहकार्य जरुरी रहेको मुख्यमन्त्री शाहीले औँल्याउनुभयो । प्रतियोगिताको आयोजक सङ्घीय सरकार भए पनि कर्णाली प्रदेशमा हुने भएकाले कुनै कमीकमजोरी नहुने गरी सबै निकायबीच समन्वय हुनुपर्ने भनाइ राख्दै उहाँले अब पनि प्रतियोगिता स्थगित हुन्छ की भनेर आशंका नगर्न सबैलाई अपिल गर्नुभयो ।

छलफलमा प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले कर्णाली प्रदेशले जिम्मेवारी पाएका चारवटै उपसमितिले हालसम्म सन्तोषजनक कामहरु गरेको धारणा राख्नुभयो । “बाँकी उपसमितिले के–कति काम गरिरहेका छन् । त्यसमा हाम्रो पनि चासो छ”, उहाँले भन्नुभयो, “प्रतियोगिता व्यवस्थापनको ठूलो जिम्मेवारी हाम्रो काँधमा आएकाले कुनै कसर बाँकी नराखी काम गरौँ ।”

छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रदेश प्रहरी प्रमुख जयराज सापकोटा, होटल व्यवसायी महासङ्घका पदमबहादुर शाही, तर्कबहादुर शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष मधुवन बिसीलगायतले सुझाव दिएका थिए । प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *