मन्त्री महावीर पुनकाे ‘छाडा’ र ‘छुद्र’ बाेली
काठमाडाैं । छाडामन्त्री डा. महावीर पुनले यस्ताेसम्म लेखे । पदीय मर्यादा र गरिमा पटक्कै कायम गर्न नसक्ने उनले यति तल गिरेर यस्ताे कमेन्ट लेखेपछि उनी निकै विवादित भएका छन् ।
झट्ट हेर्दा उनी सोझो देखिन्छन् । सादगी र इमान्दार पनि देखिन्छन् । त्यही भएर उनीप्रति देश विदेशमा रहेका नेपालीकाे सहानुभूति छ । उनकाे लवज र बाेल्ने शैलीले पनि उनले बदमास गर्दैनन् भन्ने विश्वास नेपाली समाजमा कायमै छ ।
तर उनी निकै छाडा हुँदै गएका छन् । उनकाे बाेली निकै छुद्र र अश्लील हुँदै गएकाे छ । जबकि उनी मन्त्री हुन् । मन्त्रीकाे यस्ताे बाेली स्वीकार्य हुँदैन ।
सामाजिक सञ्जालमा आलोचना गर्नेलाई उनी तल्लाेस्तरकाे गाली बर्साउँछन् । लडाइँ गर्ने जस्ताे धम्की दिन्छन् । उत्तेजक जवाफ पनि दिन्छन् ।उनकाे यस्ताे अभिव्यक्ति शैलीले मन्त्री पदको गरिमामाथि नै प्रश्न उठाएको छ।
उनको बाेली बचन र कमेन्ट हेर्दा उनलाई मन्त्री भन्नै लाज लाग्छ । यद्यपि, महावीर पुनको नाम लिँदा धेरैले सम्झिने कुरा हो, आविष्कार, अनुसन्धान, सामाजिक अभियान, ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारको संघर्ष र किताब बेच्ने अनौठो शैली।
यही छविका कारण उनले समाजमा एउटा अलग प्रतिष्ठा बनाएका हुन्। तर, अहिले मन्त्रीको कुर्सीमा पुगेपछि उनको व्यवहार हेर्दा लाग्छ- उनी मन्त्री हाेइनन् र बरु असभ्य हुन् ।
जाे बाेल्न जे मन लाग्छ, पदीय गरिमा र जिम्मेवारी भूलेर तथानाम बाेल्छन् । उनी बालेन सरकारका नवप्रवर्तनमन्त्री हुन् । घरिघरी स्तरहीन स्टाटस लेख्छन् ।
आइतबार विवादित व्यवसायी इनम सापकोटाबारे स्टाटस लेखे । त्यहाँ सयौँ प्रतिक्रिया आए। एक आलाेचकले उनकाे व्यक्तित्वमाथि व्यङ्ग्य गर्दै ‘तपाईंजस्तै हो, हेर्दाखेरि सोझो, भित्रभित्र छुरा बोकेर हिँड्ने’ भन्ने टिप्पणी गरे । अनि पुनले लेखे-‘यता आऊ, छुरा हेर्ने भए भित्रको।’
यो जवाफ कुनै सामान्य फेसबुक प्रयोगकर्ताको हुन्थ्यो भने त्यति ठूलो बहस नहुन सक्थ्यो। दर्शकवृन्द, तर जवाफ दिने व्यक्ति देशको मन्त्री हो।
राज्यको जिम्मेवारी बोकेको व्यक्तिले सार्वजनिक रूपमा प्रयोग गर्ने भाषाले उसको व्यक्तिगत स्वभाव मात्र होइन, पदको मर्यादा पनि प्रतिबिम्बित गर्छ।
के यही हो मन्त्रीको पदीय मर्यादा? अहिले चौतर्फी आलोचना भइरहेको छ। विषयवस्तुको तथ्यगत जवाफ दिनुभन्दा उनले छाडा बाेले । पूरै थेत्तराे मन्त्रीकाे रुपमा प्रस्तुत भए ।
अर्का एक प्रयोगकर्ताले महावीर पुन को चेला हो’ भनेर टिप्पणी गरेपछि उनले ‘तिमीले आलु इन्टरनेट चलाएका रहेछौ’ भन्दै जवाफ फर्काए।
पुनको समस्या फेसबुकमा जवाफ फर्काउनु मात्रै होइन, हरेक विवादमा आफूलाई नै केन्द्रमा राखेर प्रस्तुत हुने शैली पनि हो।
आलोचना आयो कि प्रतिवाद, प्रश्न उठ्यो कि व्यङ्ग्य, असहमति जनायो कि व्यक्तिगत जवाफ! यस्तो प्रवृत्तिले मन्त्रीको सार्वजनिक छवि बलियो बनाउँदैन, बरु उनको राजनीतिक र प्रशासनिक परिपक्वतामाथि प्रश्न खडा गर्छ।
अझ इनम सापकोटाजस्ता बिचौलियाको आरोप लागेका, विवादित र बदनाम पात्रसँग जोडिएका प्रसङ्गमा मन्त्रीले उठाउने प्रश्न र दिने जवाफ तथ्यमा आधारित हुनुपर्ने हो।
कसको कस्तो सम्बन्ध छ, के आरोप छन्, राज्यले के अनुसन्धान गरिरहेको छ भन्ने विषयमा स्पष्ट पार्नुपर्ने ठाउँमा सामाजिक सञ्जालको कमेन्ट बक्समै छाडा शब्द बाेल्दै समय शक्ति खर्चिनु कति उचित हो?
पुनको विगतको संघर्ष र योगदान अस्वीकार गर्नुपर्ने विषय होइन। तर, विगतको लोकप्रियताबाट वर्तमानको जवाफदेहिताबाट उन्मुक्ति पाउने सर्टिफिकेट पाएका पनि होइनन्।
आविष्कारक हुनु र सक्षम मन्त्री हुनु दुई फरक जिम्मेवारी हुन्। एउटा क्षेत्रमा कमाएको प्रतिष्ठाले अर्को क्षेत्रमा देखिएको कमजोरी छोप्न सक्दैन।
मन्त्री भएपछि फेसबुकमा आउने प्रत्येक टिप्पणीको जवाफ दिनु उनको जिम्मेवारी होइन। मन्त्रालयको नीति, अनुसन्धानको बजेट, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रम, आविष्कारकलाई राज्यको सहयोग र परिणाममुखी कामबारे जवाफ दिनुचाहिँ उनको दायित्व हो।
जनताले मन्त्री पुनबाट फेसबुकमा ‘छाडा जवाफ’ होइन, कामको हिसाब खोजेका छन्।
