`

पोखरा एभेन्जर्समाथि लुम्बिनी लायन्सको आठ विकेटको शानदार जित

Nepal One HD १८ कार्तिक २०८३ २०:०९
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई आठ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा पोखराले प्रस्तुत गरेको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै दुई विकेट गुमाएर पूरा गरेको हो।

टसपछि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्स लुम्बिनीका बलरसामु दबाबमा परेको थियो। रुबेन ट्रम्पलम्यानको घातक बलिङका कारण पोखराको ब्याटिङ क्रम कमजोर बनेको थियो। पोखराले दिएको सामान्य लक्ष्य लुम्बिनीले आक्रामक ब्याटिङ गर्दै सहजै भेट्टायो।

लुम्बिनीको जितमा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ३२ बलमा तीन चौका र तीन छक्काको मद्दतले अविजित ४७ रन बनाए। त्यस्तै, निरोश डिक्वेलाले अविजित २७ रनको योगदान दिए।

रोहित र डिक्वेलाबीच भएको ७७ रनको महत्वपूर्ण साझेदारीले लुम्बिनीलाई सहज जित दिलायो। सुरुवातमा दुई विकेट गुमाए पनि त्यसपछि यी दुई ब्याटरले सम्हालिएको र आक्रामक खेल प्रदर्शन गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

यस जितसँगै लुम्बिनी लायन्सले प्रतियोगितामा पाँच अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेल खेलेको लुम्बिनीले दुई खेलमा जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *