टोपबहादुर रायमाझीलाई ज्येष्ठ नागरिकको सुविधा, छुट्दै एक सातामा
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई चार वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी उमेरका कारण जेलमुक्त हुने भएका छन् ।
६५ वर्ष पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा उपयोग गर्दै उनी यही कात्तिक २६ गते कारागारबाट बाहिरिने भएका हुन् ।
चार वर्ष कैद सजाय सुनाइएका रायमाझीको कैद अवधि २०८४ वैशाखसम्म थियो । तर, ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाले उनको कैद अवधि छोट्याइदिएको छ ।
६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका कैदीले २५ प्रतिशतसम्म कैद छुट पाउने व्यवस्था छ । यही व्यवस्थाअनुसार रायमाझीले कैद छुट पाएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले कात्तिक १३ गते उनको निवेदनमाथि सुनुवाइ गर्दैमागबमोजिम सुविधा दिन आदेश दिएको थियो । रायमाझीका तर्फबाट कात्तिक १२ गते ज्येष्ठ नागरिकको सुविधा माग गर्दै निवेदन दर्ता गरिएको थियो ।
रायमाझीले चार वर्ष कैदको २५ प्रतिशत अर्थात् एक वर्ष छुट पाउन सक्ने भए पनि उनको बाँकी कैद अवधि ६ महिना मात्रै रहेकाले त्यति नै छुट हुने भएको हो । उनी २०८० वैशाखदेखि थुनामा छन् । यही कात्तिक २६ गते ६५ वर्ष पुग्ने भएकाले त्यसैदिन उनी रिहा हुनेछन् ।
यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर लामो समयदेखि जेलमा रहेका रायमाझीको कैद यात्रा उमेरका आधारमा टुंगिने भएको छ ।
रायमाझीलाई गत असार ३० गते जिल्ला अदालत काठमाडौंले ठगी, राज्यविरुद्धको कसुर र संगठित अपराधमा दोषी ठहर गर्दै एकीकृत रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ, संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ तथा राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
उनी २०८० वैशाख ३१ गते राति पक्राउ परेका थिए । त्यतिबेला उनी प्रतिनिधिसभाका सांसद थिए । पक्राउपछि जिल्ला अदालतले २०८० असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
उच्च अदालत पाटनले मंसिर १५ गते उनीसहित नौ जनालाई थुनामै राख्ने आदेश सदर गरेको थियो । सोही मुद्दामा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाँण भने त्यसबेला धरौटीमा रिहा भएका थिए ।
रायमाझीले सर्वोच्च अदालतसम्म पुगेर पनि थुनामुक्त हुने आदेश पाएका थिएनन् । त्यसपछि उनी निरन्तर कारागारमै रहँदै आएका थिए ।
जेन–जी आन्दोलनका क्रममा भने रायमाझी पनि कारागारबाट बाहिरिएका थिए । सुरुमा उनलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो ।
आन्दोलनका क्रममा कैदीबन्दी बाहिरिएपछि उनी पनि बाहिरिएका थिए । तर, कारागार प्रशासनलाई जानकारी गराएर बाहिरिएको र पछि उपस्थित हुन सूचना जारी गरिएकै समयमा आफैँ उपस्थित भएको भन्दै उनलाई थप कैद सजाय तोकिएन । उक्त अवधिलाई पनि कैद भुक्तानकै रूपमा गणना गरियो ।
हाल डिल्लीबजार कारागारमा रहेका रायमाझीको कैद छुटसम्बन्धी पत्र अदालतले सोमबार नै पठाइसकेको कारागारका जेलर विक्रम पाण्डेले बताएका छन् ।
जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बाटो भने रायमाझीका लागि खुला छ । तर पुनरावेदनको प्रक्रिया बाँकी रहँदै उमेरका आधारमा पाएको कैद छुटले उनी तत्काल जेलमुक्त हुने भएका छन् ।
