`

चीनमा बिक्री घटेपछि बीएमडब्लूले रोजगारी कटौती बढाउने

Nepal One HD १९ कार्तिक २०८३ २१:०३
विश्व

फ्रान्कफर्ट। विश्वकै ठूलो सवारीसाधन बजार चीनमा तीव्र प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिक नाफामा गिरावट आएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले योजनाअनुसारको रोजगारी कटौतीलाई थप तीव्र बनाउने जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गरिने भन्ने यकिन नभए पनि आवश्यकताअनुसार कटौती गर्न तयार रहेको बताउनुभयो ।

“हामी सम्भव भएसम्म अघि बढ्नेछौँ र कम्पनीका लागि उपयुक्त हुने हदसम्म कटौती गर्नेछौँ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।

चीनमा बिक्रीमा आएको तीव्र गिरावटले जर्मनीको अटोमोबाइल उद्योगलाई कठिन पुनर्संरचना गर्न बाध्य बनाएको छ । मर्सिडिज–बेन्जले पनि कर्मचारी कटौती कार्यक्रम पुनः सुरु गर्ने भएको छ भने फोक्सवागनले सन् २०३० सम्ममा आफ्ना १० ब्रान्डअन्तर्गत विश्वभर एक लाख २० हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ ।

बीएमडब्लूका एक स्रोतले गत जुलाईमा एएफपीलाई बताएअनुसार कम्पनीले त्यसबेला सुरु गरेको कार्यक्रमअन्तर्गत सन् २०२७ को अन्त्यसम्ममा आठ हजार रोजगारी कटौती गर्ने लक्ष्य राखेको थियो ।

नेदेल्कोभिकका अनुसार कर्मचारी कटौती योजनाप्रति देखिएको उच्च सहभागिताका कारण निर्धारित समयभन्दा अगावै थप कटौती गर्न सकिने अवस्था बनेको छ ।

“हामी यो कार्यक्रम छोटो समयमै पूरा गर्न सक्षम हुनेछौँ,” उहाँले भन्नुभयो । कार्यक्रमप्रति कर्मचारीबाट देखिएको सकारात्मक प्रतिक्रियाले कम्पनीको संगठनात्मक संरचनालाई अझ छरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

सेप्टेम्बरमा समाप्त भएको तीन महिनाको अवधिमा बीएमडब्लूको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १५ प्रतिशतले घटेर एक अर्ब ४५ करोड युरोमा झरेको छ । यस अवधिमा कम्पनीको बिक्री पनि करिब छ प्रतिशतले घटेर ३० अर्ब ५० करोड युरोमा सीमित भएको छ ।

यस अवधिमा विश्वभर कम्पनीका सवारीसाधनको आपूर्ति छ दशमलव तीन प्रतिशतले घटेको छ । चीनमा मात्रै सवारीसाधनको आपूर्ति २४ दशमलव आठ प्रतिशतले खस्किएको छ ।

बीएमडब्लू, मिनी र रोल्स–रोयस ब्रान्ड समेटिएको कम्पनीले चीनको बजार हिस्सा पुनः प्राप्त गर्ने प्रयासस्वरूप त्यहाँ बिक्री गरिने आफ्ना सवारीसाधनको आपूर्ति शृङ्खलाको ठूलो हिस्सा चीनमै स्थानान्तरण गर्ने प्रतिबद्धता जनाएको छ ।

नेदेल्कोभिकका अनुसार चीनमा सञ्चालन भइरहेको व्यवसायबाट कम्पनीले अन्य देशमा पनि उपयोग गर्न सकिने अनुभव र प्रविधि सिकिरहेको छ । उहाँले स्थानीय साझेदार मोमेन्टासँगको सहकार्यमा विकसित गरिएको चालक सहायता सफ्टवेयरलाई यसको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

“चीनमा रहेको हाम्रो व्यवसायसँग हाम्रो गहन अनुभव आदानप्रदान हुन्छ । कानुनी रूपमा सम्भव भएसम्म प्रविधि र ज्ञानको हस्तान्तरण दुवैतर्फ हुन्छ,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *