`

भीष्मराज आङ्देम्बेको प्रश्न – आईजीपीलाई हटाउनुको औचित्य के हो?

Nepal One HD २० कार्तिक २०८३ १२:०५
राजनीति

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कार्यकाल सकिन १७ महिना बाँकी छँदै जिम्मेवारीबाट हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रहरी नेतृत्व परिवर्तनको निर्णयलाई सुशासन नभई शक्ति प्रदर्शनको संज्ञा दिएका छन् ।

उनले देशमा बाढीपीडितको पीडा, विस्थापित सुकुम्वासीको समस्या र महँगीले जनजीवन प्रभावित भइरहेका बेला सरकारको ध्यान भने आईजीपी हटाउन केन्द्रित भएको टिप्पणी गरेका छन् ।

‘देशको अहिलेको राष्ट्रिय आवश्यकता प्रहरी प्रमुख फेर्नु हो ? भोटेकोशी र बूढीगण्डकीको बाढीले नागरिकहरू संकटमा छन्, विस्थापित सुकुम्वासीको अवस्था बेहाल छ र महँगीले सर्वसाधारण आक्रान्त छन्,’ आङ्देम्बेको प्रश्न छ, ‘यस्तो अवस्थामा १७ महिना कार्यकाल बाँकी रहेका आईजीपीलाई हटाउनुको औचित्य के हो ?’

कार्कीलाई हटाउनुको आधार र कारण सरकारले सार्वजनिक गर्नुपर्ने उनको माग छ । सरकारका प्रवक्ताको अभिव्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ताको भनाइबीच देखिएको विरोधाभासले सरकार कसको निर्देशनमा चलिरहेको छ भन्ने प्रश्नसमेत उठाएको उनले बताएका छन् ।

सरकारका प्रवक्ताले पार्टीको निर्देशनमा आईजीपी हटाइएको बताएको तर रास्वपाकै प्रवक्ताले पार्टीको निर्देशन नरहेको भनेको भन्दै आङ्देम्बेले सिंहदरबार र बालुवाटारमा के भइरहेको छ भन्नेबारे जवाफ मागेका छन् ।

उनले अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको बिचौलियाको मोबाइल प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको घरमा पुगेको भनिएको विषयलाई पनि गम्भीर रूपमा उठाएका छन् । अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मोबाइल त्यहाँ कसरी पुग्यो र त्यसमा रहेको के मेटाउनुपर्ने अवस्था आयो भन्ने उनको प्रश्न छ ।

जनताले वर्तमान सरकारलाई सत्ता र शक्तिको दुरुपयोग गर्न नभई सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र नागरिकको जीवनस्तर सुधार्न मत दिएको आङ्देम्बेको भनाइ छ ।

उनले प्रहरी प्रशासनलाई राजनीतिक नियन्त्रणमा राख्ने र अनेक तानाबाना बुनेर प्रहरी प्रमुख हटाउने प्रवृत्ति गलत भएको टिप्पणी गर्दै यस्तो कदमलाई सुशासनको अभ्यास नभई शक्तिको प्रदर्शनका रूपमा चित्रण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *