देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने
गण्डकी। जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा आज सार्वजनिक सूचनामा प्रशासनले देउसीभैलोका लागि राति १०ः०० बजेसम्मको समयसीमा तोकेको छ । सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई बाधा नपुग्नेगरी देउसीभैलो खेल्न आग्रह गरिएको छ ।
यस्तै पटका, भुइँचम्पा, रकेट, आतिससबाजी तथा विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण र भण्डारणमा रोक लगाइएको प्रशासनले जनाएको छ । देउसीभैलो खेल्दा सर्वसाधारण, व्यवसायी तथा घरधनीसँग जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने सूचनामा उल्लेख छ ।
बालबालिकालाई कार्यक्रममा सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्नुपर्ने तथा उनीहरूलाई जोखिमपूर्ण गतिविधिमा संलग्न गराउन नहुने प्रशासनले जनाएको छ । अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सर्वसाधारणलाई बाधा नपुग्नेगरी देउसीभैलो सञ्चालन गर्न आग्रह गरिएको छ ।
कुनै घर, निजी आवास, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्ने सूचनामा उल्लेख छ । जातजाति, धर्म, भाषा, संस्कृति तथा समुदायका आधारमा घृणा, द्वेष र अपमान फैलाउने गीत गाउने, नारा लगाउनेजस्ता गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ ।
सूचनाविपरीत प्रचलित कानुनको उल्लङ्घन भएमा सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक सम्पत्तिमा असर पर्ने गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाइएको छ ।
