मेटाउन खोज्दा पनि मेटिएन नेपाल संवत्
काठमाडौं । राज्यले सरकारी कागजातबाट हटाउँदैमा इतिहास मेटिँदैन भन्ने उदाहरण हो- नेपाल संवत् । राणाकालीन उपेक्षा, नेपाल भाषा र संस्कृतिमाथिको दमन तथा राज्यको बेवास्ता झेल्दै नेवार समुदायले जोगाएको यो मौलिक संवत् आज ११४७ वर्षमा प्रवेश गरेको छ । परोपकारको जनश्रुतिबाट सुरु भएको यसको यात्रा राष्ट्रिय मान्यतासम्म आइपुग्दा झन्डै साढे एघार शताब्दी पार भइसकेको छ ।
नेपाल संवत् इस्वी संवत् ८७९ अक्टोबर २० अर्थात् विक्रम संवत् ९३६ को कात्तिक शुक्ल प्रतिपदाबाट सुरु भएको मानिन्छ । तत्कालीन राजा राघवदेवको शासनकालमा प्रचलनमा आएको यो चन्द्रमामा आधारित संवत् हो । मल्लकालमा राजकीय आदेश, शिलालेख, जग्गासम्बन्धी लिखत, दानपत्र र धार्मिक अभिलेखमा यसको प्रयोग व्यापक थियो । अर्थात्, नेपाल संवत् कुनै एउटा समुदायको चाडपर्वमा सीमित पात्रो थिएन, तत्कालीन नेपालको प्रशासनिक र सामाजिक जीवनसँगै जोडिएको समयगणना थियो ।
यस संवत्को नामसँग जोडिएका छन् राष्ट्रिय विभूति शङ्खधर साख्वा । प्रचलित जनश्रुतिअनुसार उनले आफ्नो सम्पत्तिबाट गरिब जनताको ऋण चुक्ता गरिदिएका थिए । ऋणको बोझबाट मुक्त भएका जनताको खुसीसँग जोडेर राजा राघवदेवको पालामा नयाँ संवत् सुरु भएको कथन छ । यो प्रसंग समकालीन अभिलेखबाट पूर्ण रूपमा पुष्टि नभए पनि नेवार समुदायको सामूहिक स्मृतिमा गहिरोसँग बसेको छ । त्यसैले साख्वा परोपकार र सामाजिक न्यायका प्रतीकका रूपमा सम्मानित छन् ।
नेपाल संवत्को सरकारी उपस्थिति कमजोर हुँदै जानुको एउटा प्रमुख मोड राणाकाल बन्यो । शाहकालमा विभिन्न संवत् प्रचलनमा रहेको अवस्थामा प्रधानमन्त्री चन्द्रशमशेरले सन् १९०३ मा शक संवत्को सट्टा विक्रम संवत्लाई सरकारी कामकाजमा स्थापित गरे । त्यसपछि नेपाल संवत् सरकारी अभिलेख र प्रशासनिक प्रयोगबाट क्रमशः ओझेलमा पर्दै गयो ।
तर राज्यका कागजातबाट यसको प्रयोग घट्दैमा जनताको मनबाट मेटिएन । नेवार समुदायले नयाँ वर्षका रूपमा यसलाई निरन्तर मनाइरह्यो । सरकारी मान्यता कमजोर भए पनि सांस्कृतिक अभ्यास रोकिएन ।
राणाशासनको दमन पात्रोमा मात्रै सीमित थिएन । नेपाल भाषा, साहित्य र सांस्कृतिक पहिचानमाथि पनि कठोर नियन्त्रण थियो । विशेषगरी जुद्धशमशेरको शासनकालमा नेपाल भाषामा लेख्ने, प्रकाशन गर्ने र साहित्य सिर्जना गर्नेहरू राज्यको निशानामा परे । मातृभाषामा लेख्नु र आफ्नो पहिचान जोगाउन आवाज उठाउनु नै जोखिमपूर्ण बनाइएको थियो ।
महाकवि सिद्धिदास महाजुको ‘भाषा बाँचे जाति बाँच्छ’ भन्ने विचार त्यही संघर्षको सन्देश थियो । नेपाल भाषामा साहित्य लेखेकै कारण चित्तधर हृदयले जेल जीवन बिताउनुपर्यो । उनले कारागारमै चर्चित कृति ‘सुगत सौरभ’ सिर्जना गरे । सन् १९४५ मा जेलमुक्त भएका हृदयलगायत साहित्यकारको संघर्षले राज्यलाई एउटा स्पष्ट सन्देश दियो– भाषा र संस्कृति दबाएर पहिचान समाप्त पार्न सकिँदैन ।
२००७ सालमा राणाशासन अन्त्य भएर प्रजातन्त्र आए पनि नेपाल संवत् र नेपाल भाषाले अपेक्षित सम्मान पाएनन् । २०१७ सालपछि सुरु भएको पञ्चायती व्यवस्थामा एक भाषा र एक संस्कृतिलाई प्राथमिकता दिने नीतिले भाषिक तथा सांस्कृतिक विविधतालाई थप चुनौती दियो ।
तर नेवार समुदाय चुप लागेर बसेन । भाषासेवी, साहित्यकार, सांस्कृतिक अभियन्ता र समुदायका अगुवाले नेपाल संवत्लाई राष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न अभियान जारी राखे । नयाँ वर्षमा निकालिने ‘न्हूदँया भिन्तुना’ र्याली, सांस्कृतिक झाँकी र बाजागाजाले यो अभियानलाई सार्वजनिक रूप दियो । राज्यले बेवास्ता गरे पनि जनताले आफ्नो संवत् जोगाइरहे ।
लामो संघर्षपछि २०५६ सालमा शङ्खधर साख्वाले राष्ट्रिय विभूतिको मान्यता पाए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले सन् १९९९ नोभेम्बर १८ मा उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यससँगै साख्वाको योगदान नेवार समुदायमा मात्र सीमित नरही राष्ट्रिय इतिहासको हिस्सा बन्यो ।
त्यसपछि २०६५ साल कात्तिक ७ गते गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने निर्णय गर्यो । दशकौँदेखि उठ्दै आएको मागले औपचारिक सम्बोधन पायो । तर निर्णय भए पनि सरकारी कागजातमा यसको प्रयोग सुनिश्चित गर्न थप समय लाग्यो ।
अन्ततः २०८० साल कात्तिक २५ देखि सरकारी कागजातमा विक्रम संवत्सँगै नेपाल संवत् पनि उल्लेख गर्ने व्यवस्था कार्यान्वयनमा आयो । यसले नेपाल संवत्लाई सांस्कृतिक उत्सवमा मात्रै सीमित नराखी सरकारी अभिलेखमा समेत स्थान दिने बाटो खोल्यो ।
नेपाल संवत्को नयाँ वर्षसँगै नेवार समुदायले म्हः पूजा पनि मनाउँछ । ‘म्हः’ अर्थात् आफू वा आफ्नै शरीर । आफ्नै शरीर र चेतनाको पूजा गरी दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्ने यो परम्परा आत्मसम्मान र आत्मशुद्धिसँग जोडिएको छ । परिवारका सदस्य एकै ठाउँमा बसेर पूजा गर्ने चलनले पारिवारिक एकता र आपसी सम्बन्धलाई पनि बलियो बनाउँछ ।
नेपाल संवत् ११४७ मा प्रवेश गर्दा यसको इतिहास सम्झनु भनेको एउटा समुदायको पर्व सम्झनु मात्र होइन । यो नेपालको बहुभाषिक, बहुसांस्कृतिक इतिहास स्वीकार गर्नु हो । शङ्खधर साख्वाको परोपकारको जनश्रुति, मल्लकालीन अभिलेख, राणाकालीन भाषिक दमन, साहित्यकारको जेल जीवन र राष्ट्रिय मान्यताका लागि भएको आन्दोलनले यसलाई पृथक बनाएको छ।
