फ्रान्सको हिंसा भड्काएर राजनीतिक लाभ लिन रुसी सञ्जाल सक्रिय!
काठमाडौं । फ्रान्समा गत महिना भएको हिंसात्मक प्रदर्शनलाई आफ्नो राजनीतिक स्वार्थअनुकूल प्रयोग गर्न रुससँग जोडिएको गोप्य सञ्जालले सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा भ्रामक सूचना फैलाएको युरोपेली संघ (ईयू) को आन्तरिक प्रतिवेदनले खुलासा गरेको छ ।
ईयूको प्रतिवेदनअनुसार रुसी सञ्जालले फ्रान्समा भएको अशान्तिको दोष आप्रवासनलाई दिँदै सरकारको नियन्त्रण कमजोर भएको सन्देश प्रवाह गरेको थियो । प्रदर्शनलाई इस्लामिक कट्टरपन्थ र आप्रवासनसँग जोडेर जनमानसमा भय तथा विभाजन बढाउने प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ ।
फ्रान्सको विदेश मन्त्रालयले तयार पारेको छुट्टै प्रतिवेदनले पनि इजरायल र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ (मागा) अभियानसँग सम्बन्धित सामाजिक सञ्जाल खाताहरूबाट प्रदर्शनबारे नकारात्मक र भ्रामक प्रचार भएको औँल्याएको छ ।
ईयूका अनुसार सन् २०२३ सेप्टेम्बरदेखि सक्रिय ‘अपरेसन ओभरलोड’ नामक रुसी सञ्जालले पश्चिमी सञ्चारमाध्यमकै शैली र पहिचान नक्कल गरेर भिडियो तथा सामग्री उत्पादन गरी फ्रान्सेली दर्शकमाझ पुर्याएको थियो ।
ती सामग्रीमा प्रदर्शनका क्रममा आप्रवासीले बलात्कार गरेको र आतंकवादी हमला हुन लागेको जस्ता आधारहीन दाबी गरिएको थियो । सन् २०२६ अक्टोबर ७ देखि २१ सम्मको गतिविधि विश्लेषण गर्दा रुसी सञ्जालले फ्रान्सेली नेतृत्वलाई कमजोर र निरंकुश देखाउने प्रयास गरेको ईयूको निष्कर्ष छ ।
यस्ता गतिविधिको उद्देश्य राष्ट्रिय सरकारप्रतिको विश्वास घटाउने, समाजमा भय र विभाजन बढाउने तथा निर्वाचनअघि जनमत प्रभावित पार्ने रहेको प्रतिवेदनमा उल्लेख छ ।
तर, फ्रान्समा प्रदर्शन सुरु गराउन वा हिंसा चर्काउन रुस अथवा अन्य कुनै विदेशी शक्तिको प्रत्यक्ष भूमिका रहेको प्रमाण भने फेला परेको छैन । जारी अशान्तिलाई बाह्य शक्तिहरूले आफ्नो राजनीतिक स्वार्थका लागि उपयोग गरेको प्रतिवेदनको ठहर छ ।
फ्रान्सेली विदेश मन्त्रालयको प्रतिवेदनअनुसार अक्टोबर १६ देखि १८ सम्म रुस समर्थक समूहसँग सम्बन्धित एक्सका १० सर्वाधिक हेरिएका पोस्टले २८ लाख भ्युज पाएका थिए ।
यसको तुलनामा मागा अभियानसँग जोडिएका अधिकारी, सञ्चारमाध्यम र प्रभावशाली व्यक्तिका १० लोकप्रिय पोस्टले मात्रै तीन दिनमा चार करोड ९० लाखभन्दा बढी भ्युज प्राप्त गरेका थिए ।
त्यस्तै, इजरायली अधिकारी, सरकारी खाता, सञ्चारमाध्यम तथा प्रभावशाली व्यक्तिहरूका १० पोस्टले तीन करोड ५० लाखभन्दा बढी भ्युज पाएको प्रतिवेदनमा उल्लेख छ ।
यसले फ्रान्सको आन्तरिक संकटलाई लिएर विभिन्न बाह्य राजनीतिक समूहबीच सामाजिक सञ्जालमा आफ्नो पक्षको भाष्य स्थापित गर्ने प्रतिस्पर्धा तीव्र बनेको देखाउँछ ।
अमेरिकी अनुसन्धान संस्था र्यान्ड कर्पोरेसनकी वरिष्ठ राजनीतिक वैज्ञानिक एलिना ट्रेगरले यस्ता गतिविधिलाई दीर्घकालीन ‘भाष्य प्रतिस्पर्धा’ का रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार आप्रवासनविरोधी भावना उकासेर मतदातालाई अतिवादी राजनीतिक धारतर्फ आकर्षित गर्ने जोखिम रहन्छ ।
ईयूको प्रतिवेदनले अपरेसन ओभरलोडले पश्चिमी सार्वजनिक व्यक्तित्व, संस्था र सञ्चारमाध्यमप्रतिको विश्वसनीयता कमजोर बनाउने लक्ष्य राखेको पनि जनाएको छ । युक्रेनलाई युरोपेली सहयोग घटाउने उद्देश्यले आफ्ना आन्तरिक समस्याभन्दा युक्रेनलाई प्राथमिकता दिएको भन्दै युरोपेली सरकारविरुद्ध प्रचार गरिएको उल्लेख छ ।
बेलायतस्थित इन्स्टिच्युट फर स्ट्राटेजिक डायलगले यसअघि सार्वजनिक गरेको अध्ययनमा पनि उक्त अभियानलाई ठूलो परिमाणमा सञ्चालन हुने निरन्तर रुसी सूचना अभियानका रूपमा चित्रण गरेको थियो । एआईको प्रयोगबाट विज्ञहरूको आवाज नक्कल गर्ने, नक्कली समाचार तयार पार्ने, तस्बिर परिवर्तन गर्ने र स्थापित सञ्चारमाध्यमको पहिचान दुरुपयोग गर्ने गरेको अध्ययनमा उल्लेख छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अक्टोबर २१ मा प्रदर्शनमा प्रत्यक्ष विदेशी हस्तक्षेपको प्रमाण नभेटिएको तर विदेशी शक्तिहरूले सूचनामार्फत परिस्थितिको फाइदा उठाएको बताएका थिए ।
यद्यपि, फ्रान्स र ईयूका प्रतिवेदनमा उल्लेख गरिएका आरोपहरू स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको रोयटर्सले जनाएको छ । रुसले भने फ्रान्समा भ्रामक सूचना फैलाएको आरोप अस्वीकार गर्दै आएको छ ।
यसैबीच, रुसले युरोपेली मुलुकमाथि सैन्य आक्रमण गर्ने कुनै योजना नरहेको दाबी गरेको छ । रुसी उपविदेशमन्त्री सर्गेई रयाबकोभले युरोपका कुनै पनि देशलाई रुसबाट खतरा नरहेको बताउँदै आफूहरूमाथि आक्रमण भए प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
युरोपमा सुरक्षा तथा सहयोग संगठन (ओएससीई) द्वारा आयोजित ‘युरोपको सैन्यीकरण : अब के ?’ विषयक छलफलमा बोल्दै उनले पश्चिमी मुलुकहरूले युरोपमा सैन्य संघर्षलाई अपरिहार्य घटनाका रूपमा प्रस्तुत गरिरहेको आरोप लगाए ।
रुसी विदेश मन्त्रालयका अनुसार रयाबकोभले निकट भविष्यमा मात्रै नभई दीर्घकालमा समेत कुनै देशमाथि आक्रमण गर्ने रुसको उद्देश्य नरहेको बताएका छन् ।
उनले रुस–युक्रेन युद्ध अन्त्यका लागि केही युरोपेली सरकार गम्भीर नभएको आरोपसमेत लगाए । रुस र युरोपबीच सम्बन्ध सुधार गर्न समानता, साझा सुरक्षा र एकअर्काको हितको सम्मानमा आधारित संवाद आवश्यक रहेको उनको भनाइ थियो ।
रुस र उसका सहयोगीहरूको सुरक्षा तथा हितलाई बेवास्ता गरेर युरोपमा दीर्घकालीन शान्ति र स्थिरता कायम गर्न नसकिने दाबी पनि उनले गरेका छन् ।
