`

भीमफेदी दुर्घटना : ५ सदस्यीय छानबिन समिति गठन

Nepal One HD २७ कार्तिक २०८३ १७:३९
बिशेष

काठमाडाैं। मकवानपुरको भीमफेदी-देउराली सडकखण्डमा विद्युतीय (ईभी) हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन गर्ने भएको छ।

दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय सुझाउन प्रशासनले पाँच सदस्यीय छानबिन समिति गठन गर्न लागेको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिनेछ। समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहनेछन्।

समितिलाई घटनाको अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइने अधिकारीले बताए। यसका लागि जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने तयारी गरिएको उनको भनाइ छ।

काठमाडौँबाट सर्लाही जाँदै गरेको हाइस बिहान करिब ५ः४५ बजे चिसापानी ओरालोमा दुर्घटनामा परेको थियो। प्रजिअ अधिकारीका अनुसार उक्त सवारीसाधन बिहान २ बजे काठमाडौँबाट छुटेको थियो भने ५ः१५ बजे देउराली पुगेको थियो।

दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुर बस्तीका बासिन्दा रहेका छन्। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनालाई थप उपचारका लागि चितवन र काठमाडौँ रिफर गरिएको छ भने बाँकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रारम्भिक जानकारीअनुसार चालक र सवारीसाधन दुवैले पर्याप्त विश्राम नपाएको देखिएको बताएका छन्। राति अबेर काठमाडौँ पुगेको गाडीले पर्याप्त विश्राम नगरी तत्कालै यात्रु लिएर फर्किनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्नु र चालकको थकान दुर्घटनाका सम्भावित कारण हुन सक्ने उनले औँल्याएका छन्।

‘मान्छेलाई मात्र होइन, सवारी र इन्जिनलाई पनि निश्चित समयको विश्राम चाहिन्छ। तर काठमाडौँ पुग्नेबित्तिकै तुरुन्तै फर्किने र चालकले मोबाइलमा कुरा गर्दै गाडी चलाउनेजस्ता लापरबाही देखिएका छन्,’ अधिकारीले भने।

उनले चालकले नियमविपरीत गतिविधि गर्दा यात्रुहरूले पनि प्रश्न गर्ने र खबरदारी गर्ने बानी बसाल्नुपर्ने बताए। ‘चालकले नियमविपरीत काम गर्दा यात्रुले पनि किन यस्तो गरेको भनेर प्रश्न गर्ने र खबरदारी गर्ने संस्कार विकास गर्नुपर्छ,’ उनले भने।

त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले टिकट काउन्टरमै यात्रुको नाम र ठेगानासहितको विवरण राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीहरूले त्यसको पालना नगरेको अधिकारीले बताए। यात्रुको विवरण व्यवस्थित नहुँदा दुर्घटनापछि मृतकको पहिचान गर्नसमेत कठिनाइ हुने गरेको उनको भनाइ छ।

दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा अभ्यासका रूपमा ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको भए पनि त्यसलाई काठमाडौँदेखि नै व्यवस्थित र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

भीमफेदी-देउराली सडकखण्ड दुर्घटनाका दृष्टिले संवेदनशील बन्दै गएको उल्लेख गर्दै अधिकारीले सडकको अवस्था, सुरक्षा संरचना, ट्राफिक सङ्केत, सडकको स्तर र सम्बन्धित निकायको जिम्मेवारीबारे पनि अध्ययन आवश्यक रहेको बताए।

साथै, छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसका आधारमा थप प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *