छठको भोलिपल्ट पनि सार्वजनिक बिदा
काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । छठको मुख्य दिनपछि पनि पर्व मनाउने धार्मिक तथा सांस्कृतिक परम्परालाई ध्यानमा राख्दै सरकारले कात्तिक ३० गते सोमबार बिदा थप गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जनाएको छ ।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा बिदा दिने निर्णय गरिसकेको थियो । छठमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा छ ।
यही धार्मिक विधि र परम्परालाई मध्यनजर गर्दै पर्वको दोस्रो दिनसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारको निर्णयसँगै आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
