नेपाल एकीकरणको साक्षी अमरगढी किल्ला (तस्वीरहरू)
डडेल्धुरा । नेपालको एकीकरण अभियानसँग ऐतिहासिक सम्बन्ध जोडिएको डडेल्धुराको अमरगढी किल्ला संरक्षण र पुनर्निर्माणको चरणमा छ । सदरमुकाम खलङ्गामा रहेको यो किल्ला पश्चिम नेपालमा तत्कालीन सैन्य रणनीतिको महत्वपूर्ण केन्द्रका रूपमा प्रयोग भएको इतिहास छ ।
वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको मानिने किल्ला ढुङ्गा, माटो र काठको प्रयोगबाट बनाइएको हो । किल्ला परिसरमा सैनिक बसोबासका लागि बनाइएका गुफा, सुरुङमार्ग र प्राचीन अम्बेश्वर मन्दिरसमेत रहेका छन् ।
किल्लाको प्रवेशद्वारमा अमरसिंह थापाको पूर्णकदको सालिक स्थापना गरिएको छ । उक्त सालिक वि.सं. २०८१ मा निर्माण गरिएको हो ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको किल्लाको संरक्षण र पुनर्निर्माणका लागि तीनै तहका सरकार तथा नेपाली सेनाले संयुक्त रूपमा काम गरिरहेका छन् ।
नेपालको एकीकरणकालीन इतिहास झल्काउने अमरगढी किल्ला डडेल्धुराको प्रमुख ऐतिहासिक सम्पदामध्ये एक हो ।














