‘राजखानी’को माला लगाएर भिडियो बनाउनेलाई १० हजार जरिवाना
काठमाडौं। खसीबोकाको अङ्ग गलामा माला बनाएर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने रुपन्देहीका एक मासु व्यवसायी विवादमा परेका छन् । अस्वाभाविक र अमर्यादित शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा पोस्ट गरेपछि उनको चर्को आलोचना भएको हो ।
तिलोत्तमा नगरपालिका–२ मा आदीखोले मासु पसल सञ्चालन गर्दै आएका ऋषिराम रानाभाटले खसीबोकाको ‘राजखानी’को माला लगाएर बनाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक भएपछि उनको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।
घटनापछि तिलोत्तमा नगरपालिकाले अनुगमन गर्दै व्यवसायी रानाभाटलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । नगर प्रमुख रामकृष्ण खाँणका अनुसार उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले व्यवसायीलाई सचेत गराउँदै जरिवाना गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख खाँणका अनुसार रानाभाटले आफ्नो गल्ती स्वीकार गरेका छन् । उनले तोकिएको जरिवाना तिर्नुका साथै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धतासमेत जनाएका छन् ।
नगरपालिकाले मासु व्यवसाय सञ्चालन गर्दा खाद्य स्वच्छता र निर्धारित मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको छ । व्यवसायको मर्यादाविपरीत तथा जनस्वास्थ्यमा असर पुग्ने गतिविधि नगर्न पनि चेतावनी दिएको छ ।
यसअघि मासु व्यवसायी संघ रुपन्देहीले समेत घटनाबारे अनुगमन गरी रानाभाटलाई जरिवाना गरेको थियो ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका व्यवसायीले अब आफ्नो व्यवसायलाई मर्यादित, जिम्मेवार र जवाफदेही ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
