‘एमालेले मुद्दा दिन्छ, आन्दोलन जनताले गर्छन्’
काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट संसद्मा दोस्रो स्थानमा रहेको नेकपा एमाले तेस्रो स्थानमा झर्यो। २००६ सालमा स्थापना भएको एमालेका लागि पार्टी आन्दोलन र चुनावी राजनीतिमा यो सबैभन्दा ठूलो पराजय हो। अहिले एमाले त्यही पराजयको समीक्षा, पार्टी आन्दोलनको रक्षा र आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनको तयारीमा केन्द्रित छ।
अर्कोतिर, एमालेले सडक आन्दोलन गर्ने उद्घोष पनि गरिरहेको छ। संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि खतरा उत्पन्न भएकाले आन्दोलनमा आउनुपरेको एमालेको जिकिर छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुंगेलले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा पार्टीको पहिलो कार्यभार रहेको बताएका छन्।
नेपालवान एचडीसँगको भिडियोवार्ताका क्रममा ढुंगेलले आगामी स्थानीय तथा अन्य निर्वाचनको तयारी पार्टीको दोस्रो प्रमुख कार्यभार रहेको बताए। निर्वाचनलाई लक्षित गर्दै पार्टी केन्द्रदेखि प्रदेश, जिल्ला, पालिका, वडा र टोल तहसम्मका कमिटीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने उनको भनाइ छ।
प्रस्तुत छ, नेपालवान एचडीका लागि रामचन्द्र जोशीले ढुंगेलसँग गरेको भिडियोवार्ताको सम्पादित र संक्षिप्त अंश :
एमालेले भन्दै आएको छ, संविधान र लोकतन्त्रमाथि खतरा उत्पन्न भयो। त्यो खतरा के हो?
२३ र २४ भदौको एउटा दुर्घटना नै सबैभन्दा ठूलो अनिष्ट हो। सिंहदरबार, बालुवाटार, शीतल निवास, राष्ट्र बैंक र सर्वोच्च अदालतजस्ता नेपालको इतिहास र अस्मितासँग जोडिएका संरचनाहरू जलाइएको छ। कुनै पनि हिसाबले क्षमा दिन नसकिने घटना हो यो। त्यो सामान्य घटना होइन। ती संरचना जलाउने कुनै न कुनै नियत बोकेका व्यक्ति लोकतान्त्रिक व्यवस्थाका रक्षक हुन सक्दैनन्। संविधानका रक्षक त्यहाँ पक्कै पनि छैनन्। त्यहाँ जे षड्यन्त्र भएको छ, त्यसको एउटा ठूलो बिम्ब त्यो घटना हो भन्ने हाम्रो बुझाइ छ।
भदौ २३ र २४ को घटना अहिलेको सरकारले गरेको भन्न खोज्नुभएको हो?
सरकार होइन। अहिलेका प्रधानमन्त्रीले लोकतन्त्रका मान्यता बुझेको हामीलाई महसुस हुँदैन। उहाँ संसद्प्रति जवाफदेही भएको महसुस हुँदैन। संसद्मा जवाफ दिने र हरेक प्रश्नको उत्तर दिने कुरालाई उहाँ आफ्नो दायित्व ठान्नुहुन्न।
अर्कोतर्फ, दलीय व्यवस्थामा दल सर्वोपरि हुन्छ र संविधानको एउटा अंग हुन्छ। एउटा दलको आधारमा उहाँ सांसद हुनुभयो र त्यही संसद् तथा दलबाट प्रधानमन्त्री बन्नुभयो। तर त्यही दलले आह्वान गरेको बैठकमा उहाँको उपस्थिति हुँदैन। दलको सभापतिले बोलाएको बैठकमा उहाँ उपस्थित हुनुहुन्न। दलका निर्णयहरूबारे दलको सभापति वा नेतृत्वलाई जानकारी हुँदैन भने लोकतन्त्रप्रतिको विश्वास कसरी गर्ने?
अहिले यत्रो विपद् परेको बेला दलहरूलाई आह्वान गर्नुपर्ने होइन? साना हुन् वा ठूला, प्राविधिक हिसाबले भोलि उनीहरूको पोर्टफोलियो जे भए पनि दलहरूलाई आह्वान गरेको वा सम्बोधन गरेको तपाईंले देख्नुभएको छ? त्यसो भए उहाँले दललाई मान्नुभएको छैन नि। राजनीतिक दललाई अस्वीकार गर्ने प्रधानमन्त्रीलाई आज हामीले स्वीकार गरिरहेका छौँ भने प्रधानमन्त्रीसँग सम्बन्धित यी गम्भीर प्रश्नहरू हाम्रा बीचमा सधैँ रहन्छन्।
यो सरकारको सञ्चालक को हो? हाम्रो देशको भूराजनीतिमा खेल्न खोज्ने शक्तिहरू को हुन्? ती शक्तिहरूको मातहतमा नेपालीलाई प्रयोग गरेर यो देशलाई समाप्त पार्ने, संविधान र लोकतन्त्र समाप्त पार्ने षड्यन्त्रको सिकार कोही भइरहेको छ कि भन्ने खालका आशंका र त्यसका तथ्यहरू जसरी सार्वजनिक भइरहेका छन्, ती विषयप्रति हाम्रो पार्टी संवेदनशील छ।
एमालेको नजरमा ती परिचालित शक्ति को-को हुन्? उहाँहरूले (रास्वपाले) चुनावबाट १८२ सिट ल्याएको होइन?
यसमा स्पष्ट हुनुपर्छ। कहिलेकाहीँ जनता र मतदाता भ्रममा पर्छन्। पार्टीभित्रको आन्तरिक अन्तरविरोधको रियाक्सन र मोबाइल एल्गोरिदमको प्रयोग गरेर उनीहरूले जनतामा एउटा भ्रम सिर्जना गर्न सके। यही कारणले उनीहरूले जित हासिल गरेका हुन्। तर यो कुनै स्थायी जनमत होइन।
उहाँहरू संसद्प्रति उत्तरदायी हुनुपर्छ। पाँच वर्ष होइन, १० वर्ष नै झेलौँला। राम्रो काम गरे स्वीकार गरौँला। उहाँहरूले जनतालाई जुन स्थानमा राख्नुहुन्छ, हामी त्यही स्थानमा बसौँला।
अर्को कुरा, हामीले यो व्यवस्था ल्याउन हाम्रो सिनियर पुस्ताले १४ वर्ष, १८ वर्ष जेल बसेको छ। प्रहरी हिरासतमा बसेर ठूलो दुःख भोगेको छ। क्याम्पसका गेटमा टायर बालेर, चक्काजाम गरेर, बन्दहडताल गरेर र प्रहरीका लाठीसँग पौठेजोरी खेल्दै हामीले ल्याएको व्यवस्था हो।
म उहाँहरूलाई भन्न चाहन्छु- तपाईंहरूले जनतालाई भ्रममा पार्नुभयो। हामीप्रति भ्रम सिर्जना गर्न सक्नुभयो। त्यसमा कुन-कुन शक्ति लागे? मेटा लाग्यो अथवा अरू कुनै सामाजिक सञ्जालका पावर सेन्टरहरू लागे, भूराजनीतिका पावर सेन्टरहरू लागे? ती कुरा विभिन्न घटनाक्रमले आज पुष्टि भइरहेका छन्।
सरकारका यी क्रियाकलापविरुद्ध एमाले सडक आन्दोलनको तयारीमा हो? प्रदेश कमिटीका बैठकहरू, अरू कार्यक्रम र गतिविधि आन्दोलनकै तयारी हुन्?
हामी जनताको बीचमा मुद्दा पस्किन्छौँ। आज जनतालाई महँगीको ठूलो मार परेको छ। सरकारले जुन प्रतिक्रिया दिनुपर्ने हो, दिएको छैन। स्वास्थ्य, शिक्षा र बिजुलीमा कर लगाइएको छ। जनताले त्यसरी शासन गर्न जनमत दिएका होइनन्।
हामीले जनताका मुद्दा उठाउनुपर्छ नि। राष्ट्रियताको सन्दर्भमा प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको छ भनेर खुला रूपमा संसद्मा बोल्दा हामीले त्यसप्रति सचेतना जाहेर गर्नुपर्दैन? जनतालाई त्यसबारे अपिल गर्नुपर्दैन? त्यस विषयमा संशय सिर्जना गर्ने ठाउँ उहाँले दिनुभएको छैन त? त्यसैले हाम्रो काम खबरदारी गर्ने हो। हामी गरिरहन्छौँ र जनतालाई आह्वान गर्छौँ।
सुकुम्बासी समस्या समाधानमा उहाँले कति काम गर्नुभयो त? ती सुकुम्बासीलाई आज कहाँ व्यवस्थापन गरियो? अन्योलमा पारेर छोडिदिने? आज त्यो अभियान कहाँ पुग्यो? खोइ, त्यो डोजर अहिले फेरि चल्न छोड्यो त? आधा डोजर चलाएर आधा काम छोडिदिने? कहाँ टुंगियो यो काम?
सुशासनको काम सुरु गरियो। भर्खरै पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरियो। के प्रमाणित भयो त? यति अपरिपक्व ढंगले एउटा व्यक्तिको व्यक्तित्वलाई तेजोवध गर्न गिरफ्तारी गर्न मिल्छ? त्यो तरिका हो त?
स्टन्टबाजीका ती शैली, जनमत प्राप्त गर्दाका स्टन्टबाजी शैलीहरू शासन गर्दा पनि प्रयोग गर्न खोजिएको छ। त्यो स्वीकार गर्न सकिन्छ त? त्यसैले हामी जनतालाई यी विषयमा अपिल गर्छौँ। हाम्रो कार्यकर्ता तहबाट पनि अपिल गर्छौँ। जनता सडकमा आउन चाहे भने आउँछन्। सडकमा आउन चाहे भने हामी मुद्दा उठाउँछौँ। निरन्तर हाम्रा मुद्दाहरू उठाइरहन्छौँ। हामी खबरदारी गरिरहन्छौँ।
जनताका मुद्दा उठाउने दायित्व हाम्रो पार्टीको हो। हामी यो देशको रक्षा गर्न चाहन्छौँ, देश बनाउन चाहन्छौँ। हाम्रा कमजोरी सुधार गर्न चाहन्छौँ। नेपाली जनतालाई यही विषयमा अपिल गर्छौँ। तर शासनमा बसिरहेको नेतृत्वले पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारी के हो भन्ने कुरा पनि नेपाली जनतालाई राम्रोसँग बुझाउँछौँ, प्रशिक्षित गर्छौँ र अपिल गर्छौँ। आन्दोलन हामीले होइन, जनताले गर्छन्।



