दैलेखमा ८० अर्ब घनमिटर ग्यास पुष्टि, उत्खनन भने अनिश्चित (फोटो-फिचर)
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा गरिएको पेट्रोलियम अन्वेषणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको पुष्टि भएको छ। तर व्यावसायिक उत्पादनका लागि आवश्यक थप परीक्षण र नेपाल–चीनबीच दोस्रो चरणको सम्झौता नहुँदा आयोजना अघि बढ्न सकेको छैन।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित परियोजनाअन्तर्गत सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण थालिएको थियो। नेपाल र चीनबीच सन् २०१६ मा भएको समझदारीका आधारमा अघि बढाइएको यस परियोजनाका लागि चीनले करिब दुई अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराएको हो।
कोभिड महामारी, भौगोलिक कठिनाइ, सडक तथा ढुवानी समस्या र जग्गा अधिग्रहणका कारण निर्धारित समयभन्दा ढिलो गरी अन्वेषणको काम अघि बढेको थियो। पहिलो चरणमा भौगर्भिक, सिस्मिक, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल अध्ययन गरिएको थियो।
अध्ययनपछि भैरवी गाउँपालिका–१ जलजलेमा करिब ४५ रोपनी जग्गा अधिग्रहण गरी ड्रिलिङ संरचना निर्माण गरिएको थियो। सन् २०२४ मेदेखि सुरु भएको ड्रिलिङमा जमिनमुनि चार हजार १३ मिटर गहिराइसम्म खनिएको थियो। त्यहाँबाट संकलित माटो तथा चट्टानका नमुना परीक्षणका लागि चीन पठाइएको थियो।





चिनियाँ प्राविधिक टोलीको अध्ययनले जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको देखाएको छ। प्रारम्भिक अध्ययनमा भने ११२ अर्ब घनमिटरसम्म ग्यास हुन सक्ने अनुमान गरिएको थियो।
यद्यपि भण्डार पहिचान हुँदैमा व्यावसायिक उत्पादन सम्भव भएको मान्न सकिँदैन। ग्यासको गुणस्तर, दबाब र प्रवाह क्षमता परीक्षण गर्न ‘वेल टेस्टिङ’ आवश्यक छ। त्यसपछि मात्रै कति ग्यास निकाल्न सकिन्छ र उत्पादनका लागि कस्तो प्रविधि आवश्यक पर्छ भन्ने टुंगो लाग्नेछ।
पहिलो चरणको अन्वेषण सकिए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन। थप परीक्षणका लागि चीनको चाइना जियोलोजिकल सर्भेसँग नयाँ सम्झौता आवश्यक रहेकाले प्रक्रिया रोकिएको हो। यसबीच जलजलेमा जडान गरिएका महँगा ड्रिलिङ मेसिन र उपकरण प्रयोगविहीन बनेका छन्।
व्यावसायिक उत्पादन सम्भव भए ग्यास आयातमा भइरहेको खर्च घटाउन, उद्योग सञ्चालन तथा विद्युत् उत्पादनमा सहयोग पुग्न सक्छ। दैलेख र समग्र कर्णालीमा रोजगारी तथा आर्थिक गतिविधि विस्तार हुने सम्भावना पनि छ। तर त्यसका लागि प्रशोधन केन्द्र, भण्डारण, ढुवानी र वितरण प्रणालीमा ठूलो लगानी आवश्यक पर्नेछ।





अहिले दैलेखमा ग्यासको भण्डार रहेको तथ्यले सम्भावना देखाए पनि व्यावसायिक उत्पादनको सुनिश्चितता भने भएको छैन।
थप प्राविधिक परीक्षण, दोस्रो चरणको सम्झौता र उत्पादनसम्बन्धी स्पष्ट योजना नबनेसम्म दैलेखको ग्यास भण्डार जमिनमुनि नै सीमित रहनेछ।
