`

हुआङका लागि एनभिडियाको ढोका बन्द!

Nepal One HD ३ मंसिर २०८३ ११:३७
विज्ञान-प्रविधि

काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङलाई पुनः नेतृत्वमा फर्काउने सम्भावना अस्वीकार गरेको छ।

कर्मचारी, लगानीकर्ता, प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेतले हुआङको पुनरागमनको पक्षमा समर्थन जनाइरहेका बेला कम्पनीको सञ्चालक समितिले भने उनको राजीनामा स्वीकार गर्ने निर्णयबाट पछि नहट्ने स्पष्ट पारेको छ।

मंगलबार सार्वजनिक त्रैमासिक वित्तीय नतिजापछि लगानीकर्तासँग भएको छलफलमा सञ्चालक समितिका अध्यक्ष हार्भे जोन्सले हुआङले स्वेच्छाले पद छाडेको र उनलाई पुनः सीईओ नियुक्त गर्ने कुनै योजना नरहेको बताएका हुन्।

कम्पनीको आचारसंहिता र संस्थागत संस्कृतिविपरीत व्यक्तिगत आचरण सार्वजनिक भएपछि हुआङले राजीनामा दिएको र सञ्चालक समितिले सर्वसम्मत रूपमा त्यसलाई स्वीकार गरेको जोन्सको भनाइ छ।

गत साता पद त्यागेका हुआङले भने मंगलबार पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिँदै सञ्चालक समितिले चाहे आफू पुनः जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए। राजीनामापछि कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकबाट फर्किन आग्रह गर्दै धेरै सन्देश आएको उनले उल्लेख गरेका छन्।

‘मैले सञ्चालक समितिका लागि समस्या सिर्जना गरेँ, त्यसप्रति गहिरो पछुतो छ,’ उनले भनेका छन्। कम्पनीले गरिरहेको स्वतन्त्र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन्।

हुआङको राजीनामा विवाहबाहिरको सम्बन्धसम्बन्धी विवादपछि आएको हो। यससँगै चिनियाँ व्यवसायी एलिस हुआङसँगको उनको सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले पनि अनुसन्धान गरिरहेको बताइएको छ। एलिसको चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्भावित सम्बन्ध र उनले बेइजिङलाई सूचना उपलब्ध गराएको हुन सक्ने विषय अनुसन्धानको दायरामा रहेको जनाइएको छ।

हुआङसँग जोडिएको विवादले अमेरिकी राजनीतिमा समेत प्रभाव पारेको छ। अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले एनभिडियामाथि अनुसन्धान गरिरहेको वालस्ट्रिट जर्नलले जनाएको छ। कम्पनीले लगानीकर्तालाई उपलब्ध गराएका विवरण भ्रामक थिए कि थिएनन् भन्ने विषय पनि अनुसन्धानमा समेटिएको बताइएको छ। यद्यपि अनुसन्धानको विस्तृत विवरण सार्वजनिक भएको छैन।

यसैबीच, अमेरिकी सांसदहरूले हुआङ र एलिसबीचको सम्बन्ध तथा वासिङ्टनमा भएका गतिविधिबारे चासो देखाएका छन्। चीनलाई उन्नत एआई चिप निर्यात गर्ने विषयमा थप कडाइ गर्नुपर्ने दबाबसमेत बढेको छ। तर हुआङ भने चीनमा अमेरिकी चिपको निर्यात विस्तार गर्नुपर्ने पक्षमा रहँदै आएका थिए।

सीईओ पदबाट हटे पनि एनभिडियामा हुआङको प्रभाव पूर्ण रूपमा समाप्त भएको छैन। कम्पनीमा उनको करिब ३.५ प्रतिशत सेयर स्वामित्व छ। कम्पनीको संस्थागत व्यवस्थाअनुसार लगातार तीन वर्षसम्म तीन प्रतिशतभन्दा बढी मतदान अधिकारयुक्त सेयर राख्ने सेयरधनीले सञ्चालक समितिका लागि दुई जना उम्मेदवार प्रस्ताव गर्न सक्छन्।

एनभिडियाको वार्षिक साधारणसभा आगामी जुनमा हुने भएकाले हुआङले दुई जना स्वतन्त्र सञ्चालकका उम्मेदवार अघि सार्न सक्नेछन्। तर उनीहरू निर्वाचित हुन अन्य सेयरधनीको समर्थन आवश्यक हुन्छ।

उता, कम्पनीले राष्ट्रिय सुरक्षा र निर्यात नियन्त्रणसम्बन्धी विषयको निगरानी गर्न सञ्चालक समितिअन्तर्गत छुट्टै समिति गठन गरेको छ। सुजेन नोरा जोन्सको नेतृत्वमा रहने यो समितिलाई हुआङको राजीनामापछिको महत्त्वपूर्ण संस्थागत कदमका रूपमा हेरिएको छ।

एलिससँग जोडिएको सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडमाथि पनि प्रतिबन्धित एनभिडिया चिप चीन पठाएको आशंकामा अनुसन्धान भइरहेको छ। कम्पनीले भने कुनै गैरकानुनी काम नगरेको दाबी गरेको छ।

हुआङको बहिर्गमनले एनभिडियाको नेतृत्व परिवर्तनसँगै अमेरिका–चीन प्रविधि प्रतिस्पर्धा र एआई चिप निर्यातको मुद्दालाई समेत नयाँ बहसमा ल्याएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *