निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार गरिने
ललितपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिइने बताएकी छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा देखिएको चलखेल, सेवाप्रवाहमा ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गरिने बताइन् ।
कानुनविपरीत काम गर्न राजनीतिक दबाब आए पनि कर्मचारीले अस्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उनले कानुनसम्मत काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट पारिन् ।
राज्यले खटाएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह प्रभावित भएको उनको भनाइ थियो । सार्वजनिक सेवामा सामान्य कामका लागि समेत नागरिकले लामो समय कुर्नुपर्ने र अतिरिक्त रकम खर्च गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्याल, नायब महालेखापरीक्षक घनश्याम पराजुलीलगायतले नवप्रवेशी कर्मचारीलाई इमानदारी, नैतिकता र जनउत्तरदायित्वका साथ काम गर्न आग्रह गरे ।
छ महिनासम्म सञ्चालन हुने तालिममा परराष्ट्र सेवाका नौ, लेखापरीक्षणका ११, सङ्घीय संसद् सेवाका चार, सामान्य प्रशासनका १२८ र राजस्वका ३७ गरी १८९ जना अधिकृत सहभागी छन् ।
