`

सोलुखुम्बुको आकाशमा बढ्दै दुर्घटना, के हो कारण ?

Nepal One HD ७ मंसिर २०८३ २१:१३
श्रम संस्कृति पार्टी

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकदेखि हेलिकप्टर उडानको व्यस्त क्षेत्र बन्दै गएको छ । उद्धार, पर्यटक ओसारपसार, हिमाली दृश्यावलोकन, पर्वतारोहण तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि दैनिक ठूलो सङ्ख्यामा हेलिकप्टर सञ्चालन हुने गरेका छन् । तर पर्यटकीय गतिविधिसँगै बढेको हवाई चहलपहलले सुरक्षा जोखिमसमेत बढाएको छ ।

पछिल्लो एक दशकमा सोलुखुम्बुका विभिन्न क्षेत्रमा भएका हेलिकप्टर दुर्घटनाका घटना हेर्दा यो जोखिम सामान्य नभएको जानकारहरूको चिन्ता छ । दुर्घटनामा मानवीय क्षति, चालकको मृत्यु, यात्रु घाइते हुनेदेखि हेलिकप्टर पूर्णरूपमा क्षतिग्रस्त हुनेसम्मका घटना भएका छन् । कतिपय घटनामा प्राविधिक समस्या, कतिपयमा प्रतिकूल मौसम, अवतरणस्थलको अवस्था र मानवीय तथा व्यवस्थापकीय कमजोरी देखिएका छन् ।

पछिल्लोपटक गत कात्तिक १७ गते जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भयो भने तीन जना घाइते भए । फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सो दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको थियो भने न्युजिल्यान्डका एक यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भएका थिए ।

बिहान करिब ८ बजेर १२ मिनेटमा भएको उक्त घटनाले सोलुखुम्बुको हिमाली क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । फेरेचे क्षेत्र लुक्ला विमानस्थलको हवाई ट्राफिक नियन्त्रणको प्रत्यक्ष सञ्चार पहुँच बाहिर पर्ने भएकाले त्यहाँ उडान तथा अवतरणका क्रममा चालकहरूबीच आपसी समन्वय अत्यन्त महत्त्वपूर्ण हुन्छ । यद्यपि दुर्घटनाको वास्तविक कारण आधिकारिक अनुसन्धानबाट मात्र पुष्टि हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले बताए । सोलुखुम्बुको आकाशमा हेलिकप्टर सञ्चालनको बढ्दो चाप, नियमनको प्रभावकारिता, कम्पनीहरूको व्यावसायिक प्रतिस्पर्धा र यात्रुको सुरक्षाबीचको सन्तुलनबारे पुनर्विचार गर्नुपर्ने अवस्थाको सङ्केत पनि हो ।

एक दशकमा पाँच दुर्घटना

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अभिलेखअनुसार २०७३ देखि २०८३ को हालसम्म सोलुखुम्बुमा भएका पाँच प्रमुख हेलिकप्टर दुर्घटना तथा गम्भीर घटनाले सुरक्षा चुनौती उजागर गरेका छन् । २०७३ असोज ९ गते जिल्लाको जुभिङस्थित बुक्सामा माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेन्डमै इन्जिन बन्द भएपछि चालकले आकस्मिक अवतरण गराएका थिए । अवतरणका क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षतिग्रस्त भएको भए पनि हेलिकप्टरमा सवार छ जना नै सकुशल रहेका थिए ।

त्यस्तै २०७९ असार २६ मा मनाङ एयरको हेलिकप्टर लामजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भयो । ९एन–एएमभी कलसाइनको हेलिकप्टरमा चालक क्याप्टेन चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिक सवार थिए । दुर्घटनामा सबै छ जनाको मृत्यु भयो । प्रारम्भिक विवरणमा प्रतिकूल मौसमलाई सम्भावित कारणका रूपमा औँल्याइएको थियो । २०७९ असोज २७ गते लोबुचेमा मनाङ एयरकै हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । ९एन–एएनजे कलसाइनको हेलिकप्टरमा चालक प्रकाशकुमार सेढाईं मात्र सवार थिए । दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । गम्भीर घाइते चालकलाई उद्धार गरी काठमाडौं हुँदै थप उपचारका लागि भारत लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भयो ।

यसैगरी २०८२ कात्तिक १२ गते लोबुचे हेलिप्याडमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । लुक्लाबाट पर्यटक लिन गएको हेलिकप्टर हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर पल्टिएको थियो । हेलिकप्टरका चालक सकुशल रहेका थिए तर हेलिकप्टरमा ठूलो क्षति पुगेको थियो । २०८३ कात्तिक १७ गते फेरुचेमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकप्टर अवतरण गर्ने क्रममा आकाशमै ठोक्किए । दुर्घटनामा भारतीय पर्यटकको मृत्यु भयो भने एक अन्य यात्रु र दुवै हेलिकप्टरका चालक घाइते भए । यो घटनाले एउटै हेलिप्याडमा एकभन्दा बढी हेलिकप्टरको आवागमन व्यवस्थापन, सञ्चार समन्वय र अवतरणको प्राथमिकतासम्बन्धी व्यवस्थामाथि प्रश्न उठाएको पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको भनाइ छ ।

के हो दुर्घटनाको कारण ?

नेपालको हिमाली भूगोलमा हेलिकप्टर उडान आफैँमा चुनौतीपूर्ण मानिन्छ । अग्ला हिमाल, साँघुरा उपत्यका, तीव्र गतिमा परिवर्तन हुने मौसम, हावाको चाप, हिमपात, कुहिरो र सीमित अवतरण क्षेत्रले उडानलाई जोखिमपूर्ण बनाउँछन् तर सबै दुर्घटनाको कारण मौसमलाई मात्रै देखाएर उम्कन मिल्ने अवस्था भने देखिँदैन । लोबुचेमा २०२५ अक्टोबर २९ मा भएको दुर्घटनाको सरकारी अनुसन्धान प्रतिवेदनले यसबारे महत्त्वपूर्ण तथ्य उजागर गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको विमान दुर्घटना अनुसन्धान निकायले २०२६ मार्च २३ मा सार्वजनिक गरेको अन्तिम प्रतिवेदनअनुसार उक्त दुर्घटनामा हेलिकप्टरमा प्राविधिक खराबी थिएन । हेलिकप्टर उडानयोग्य अवस्थामा थियो र नियमित मर्मतसम्भारसमेत गरिएको थियो । दुर्घटनाको प्रमुख कारण हिउँले ढाकिएको हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टरको स्किड असन्तुलित हुनु र त्यसलाई मिलाउने प्रयास गर्दा चालकबाट आवश्यकताभन्दा बढी नियन्त्रण प्रतिक्रिया हुनु रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।

प्रतिवेदनले लुक्लास्थित कम्पनीको सञ्चालन व्यवस्थापनमा समेत कमजोरी देखाएको छ । व्यस्त मौसममा आवश्यक जिम्मेवार कर्मचारी उपस्थित नहुनु, उडानपूर्व जोखिम मूल्याङ्कन व्यवस्थित नहुनु र चालकलाई मौसम तथा अवतरणस्थलको पर्याप्त जानकारी नदिनु दुर्घटनाका सहायक कारण थिए । अझ महत्त्वपूर्ण कुरा, लोबुचेमा मौसम मापन गर्ने केन्द्रसमेत नभएको प्रतिवेदनमा उल्लेख छ । लुक्लाको हवाई ट्राफिक सेवा केन्द्रसँग प्रत्यक्ष रेडियो सञ्चार पहुँच पनि थिएन ।

खुम्बुमा राज्यको नियामकीय उपस्थिति कमजोर

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटनाका घटनाले नागरिक उड्डयन प्राधिकरणको नियमन तथा अनुगमन प्रणालीमाथि पनि प्रश्न उठाएको छ । विशेषगरी लुक्लाभन्दा माथिका फेरुचे, लोबुचे, गोरक्सेप, कालापत्थरलगायतका क्षेत्रमा उडान तथा अवतरण सञ्चालन हुँदा सबै स्थानमा हवाई ट्राफिक नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको चालकहरू बताउँछन् । कतिपय ठाउँमा चालकहरूले एकअर्कासँग सञ्चार गरेर उडान तथा अवतरण समन्वय गर्नुपर्ने बाध्यता रहेको छ ।

यस्तो अवस्थामा प्रत्येक हेलिकप्टरले आफ्नो स्थान, उडान दिशा, अवतरण गर्ने समय र अन्य हेलिकप्टरको गतिविधिबारे स्पष्ट जानकारी राख्नुपर्छ । तर एउटै क्षेत्रमा धेरै हेलिकप्टर सञ्चालन हुँदा प्रभावकारी सञ्चार तथा समन्वय प्रणाली नहुँदा दुर्घटनाको जोखिम बढ्न सक्छ । फेरुचेको पछिल्लो दुर्घटनाले यही प्रश्नलाई सतहमा ल्याएको छ ।

लोबुचे दुर्घटनाको सरकारी अन्तिम प्रतिवेदनले नौवटा सुरक्षा सिफारिस गरेको छ । तीमध्ये व्यस्त मौसममा हेलिकप्टर कम्पनीले लुक्लाजस्ता आधार केन्द्रमा जिम्मेवार सञ्चालन कर्मचारी अनिवार्य उपस्थित गराउनुपर्ने, उडानअघि जोखिम मूल्याङ्कन गर्नुपर्ने, अवतरणस्थलको अवस्था र मौसमबारे चालकलाई विस्तृत जानकारी दिनुपर्ने तथा हेलिप्याडमा अवतरण सहयोगी कर्मचारीको व्यवस्था गर्नुपर्ने विषय छन् । नागरिक उड्डयन प्राधिकरणले उच्च हिमाली क्षेत्रमा प्रयोग हुने हेलिप्याडको प्राविधिक मूल्याङ्कन गर्नुपर्ने, स्पष्ट देखिने मानक सङ्केत राख्नुपर्ने र हिउँ तथा उच्च हिमाली भूभागमा हेलिकप्टर सञ्चालनका लागि विशेष निर्देशिका तयार गर्नुपर्ने सिफारिस गरिएको छ ।

व्यावसायिक प्रतिस्पर्धा कि यात्रुको सुरक्षा ?

सगरमाथा क्षेत्र नेपालको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । यहाँ आउने विदेशी पर्यटकमध्ये केहीले पदयात्रा गर्छन् भने केहीले हेलिकप्टरमार्फत हिमाली दृश्यावलोकन तथा आवागमन रोज्छन् । बिरामी तथा दुर्घटनामा परेका पर्यटकको उद्धारमा हेलिकप्टरको भूमिका झनै महत्त्वपूर्ण छ । तर यही क्षेत्र हेलिकप्टर कम्पनीहरूको व्यावसायिक गतिविधिको केन्द्र बन्दै जाँदा त्यसको सञ्चालनमा आवश्यक अनुशासन र सुरक्षाको विषय प्राथमिकतामा रहनुपर्ने पर्यटन व्यवसायी तेम्बा छिरी शेर्पाले बताए । उनले भने, “पर्यटकको समय बचत गर्ने, छिटो सेवा दिने र बढीभन्दा बढी उडान सञ्चालन गर्ने व्यावसायिक उद्देश्यले उडान सुरक्षाका मापदण्डलाई कमजोर बनाउनु हुँदैन । हिमाली क्षेत्रमा एउटा अतिरिक्त उडानबाट हुने आम्दानीभन्दा यात्रुको जीवनको मूल्य ठूलो हुन्छ ।”

स्थानीय समुदायले पनि खुम्बु क्षेत्रमा हेलिकप्टरको बढ्दो चापप्रति असन्तुष्टि जनाउँदै आएका छन् । हेलिकप्टरको आवाजले बस्ती, विद्यालय, वन्यजन्तु र राष्ट्रिय निकुञ्जको शान्त वातावरणमा असर परेको उनीहरूको गुनासो छ । पर्यटकलाई हेलिकप्टरबाटै ओसारपसार गर्दा स्थानीय गाइड, भरिया तथा पदयात्रासँग जोडिएका व्यवसायीको रोजगारीमा समेत असर पर्ने चिन्ता व्यक्त हुँदै आएको नाम्चेका स्थानीय लामाकाजी शेर्पाको भनाइ छ ।

यसैबीच सगरमाथा राष्ट्रिय निकुञ्ज र स्थानीय तहले २०२५ डिसेम्बरमा दृश्यावलोकनका लागि हुने हेलिकप्टर उडानमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेका थिए । उद्धार उडानलाई भने छुट दिइएको थियो । यसले पर्यटन विकास, स्थानीय अर्थतन्त्र र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता देखाउँछ ।

पर्यटनको प्रतिष्ठा जोगाउन सुरक्षित आकाश आवश्यक

नेपालको हिमाली पर्यटन अन्तर्राष्ट्रिय रूपमा चिनिएको छ । सगरमाथा क्षेत्रको आकर्षणले विश्वभरका पर्यटकलाई आकर्षित गरिरहेको छ । तर पर्यटकीय गन्तव्यको प्रतिष्ठा प्राकृतिक सुन्दरता र साहसिक अनुभवले मात्र कायम हुँदैन । त्यहाँ उपलब्ध यातायात, उद्धार, स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको विश्वसनीयताले पनि निर्धारण गर्ने पर्यटनविज्ञ आङछिरिङ शेर्पा बताउँछन् ।

एकपछि अर्को हेलिकप्टर दुर्घटना भइरहने र दुर्घटनापछि मात्र सुधारका प्रतिबद्धता व्यक्त गरिने हो भने त्यसले नेपालको हवाई सुरक्षा प्रणालीप्रति अन्तर्राष्ट्रिय विश्वास कमजोर बनाउन सक्ने पर्वतारोही स्पीडकाजी शेर्पाको चिन्ता छ । नेपालमा सन् १९७९ यता कम्तीमा ४३ हेलिकप्टर दुर्घटना भएका र तीमध्ये २३ दुर्घटनामा मानवीय क्षति भएको विवरण छ । त्यसमध्ये सगरमाथा क्षेत्रमा मात्रै आठ हेलिकप्टर दुर्घटना भएका र पाँच घटनामा मानवीय क्षति भएको सरकारी तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *