`

हर्क साम्पाङले साेधे- रक्षा मन्त्रालयकाे बजेट किताब हामीलाई किन दिइएन ? [भिडियाे]

Nepal One HD ४ असार २०८३ ११:५१
भिडियो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले रक्षा मन्त्रालयको बजेट तथा खर्च सम्बन्धी विवरण सांसदहरूलाई उपलब्ध नगराइएको भन्दै आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रक्षा मन्त्रालयअन्तर्गतको खर्च पुस्तिका (बजेट किताब) संसद सदस्यहरूलाई उपलब्ध नगराइएको विषय गम्भीर रहेको बताए। ‘रक्षा मन्त्रालयअन्तर्गत खर्च किताब हुने चलन हो भने हामीलाई किन दिइएन ? यसको उत्तर चाहन्छु,’ उनले भने।

साम्पाङले रक्षा मन्त्रालयसँग सम्बन्धित छलफल तथा प्रश्नोत्तर कार्यक्रमका क्रममा रक्षामन्त्री नै अनुपस्थित रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले रक्षामन्त्रीलाई संसदमा उपस्थित गराएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन लगाउन माग गरे। हाल रक्षामन्त्री प्रधानमन्त्री बालेन शाह नै हुन् । उनकाे अनिवार्य सहभागिताकाे माग साम्पाङले गरे ।

उनले प्रधानमन्त्री बालेनले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विषय पनि पुनः उठाए। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै त्यसलाई संसदको रेकर्डबाट तत्काल हटाउनुपर्ने माग अझै सम्बोधन नभएको बताए। ‘त्यो राष्ट्रघाती अभिव्यक्ति हो, प्रधानमन्त्रीले आफ्नै मुखबाट सच्याउनुपर्छ,’ उनले भने।

साम्पाङले नेपालमा दशकौँदेखि बसोबास गर्दै आएका भुटानी शरणार्थीहरूको समस्यातर्फ पनि सरकारको ध्यानाकर्षण गराए। शरणार्थीहरूले स्वदेश फर्कन पाउनुपर्ने वा विदेशमा रहेका आफ्ना परिवारसँग पुनर्मिलन हुन पाउनुपर्ने माग राख्दै आएको उल्लेख गर्दै उनले देशविहीन भएर शरणार्थी जीवन बिताइरहेका मानिसहरूको समस्याबारे राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

उनले शरणार्थी समस्या समाधान तथा संसदमा उठाइएका विषयमा सरकारको स्पष्ट धारणा आउन आवश्यक रहेको समेत बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *