प्रधानमन्त्री बालेनको अभिव्यक्ति हटाउन हर्कको माग
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै पार्टी अध्यक्ष हर्क साम्पाङले उक्त विषयलाई औपचारिक रूपमा संसद्को अभिलेखबाट हटाउने प्रक्रिया किन अघि नबढाइएको भन्दै सभामुखसँग प्रश्न गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौँ ।’
यसअघि जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा व्यापक बहस र विरोध हुँदै आएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ अस्वीकृत गर्दै आपत्ति जनाएका छन् । सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको उनीहरुको दाबी छ।
