यस्ताे छ प्रधानमन्त्री बालेनकाे ‘देश उँभो लगाउने’ टोली
काठमाडाैं । प्रधानमन्त्री बालेनले देश उँभो लगाउने टोली सार्वजनिक गरेका छन् । उनको देश बनाउने टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ।
सिंहदरबारबाट दिनरात देश बनाइरहेको दाबी गर्ने प्रधानमन्त्री बालेनले नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएको चार दिनअघि १३ जेठमा देश बनाउने टोलीको नाम सार्वजनिक गरेका थिए ।
रात छिप्पिँदै जाँदा उनले सार्वजनिक गरेको देश बनाउने टोलीमा आफूसहित गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल थिए ।
त्यसबेला उनले देश बनाउने टोली भन्दै प्रधानमन्त्री आफूलाई पिएम, गृहमन्त्री सुधनलाई एचएम र भौतिकमन्त्री सुनिललाई आईएम लेखेका थिए ।
तर, देश के साँच्चिकै देश बनिरहेको छ ? के साँच्चिकै देश उँभो लागिरहेको छ ? कि ओरालो ? यो जनताले महसुस गर्ने विषय हो ।
तर, प्रधानमन्त्री बालेनले डोजर चलाएर उठिबास लगाएका सुकुम्बासीहरूको रुवाबासी छ । भोटेकोशी–त्रिशूली बाढीले बेहाल पारेका रसुवा, नुवकोट र धादिङका नदी तटीय क्षेत्रका जनता गहिरो दुःखमा छ । सहकारीपीडितले न्याय पाएका छैनन् ।
लघुवित्त पीडितहरू बालेन सरकारसँग निराश छ । देश बदल्ने, भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गराउने र देशमै रोजगारीको व्यवस्था होस् भनेर जेनजी विद्रोह गर्ने जेनजीहरू सरकारकै विरुद्धमा छन् । झोला बोकेर नौ जवान युवाहरू देश छाड्दै विदेश गइरहेका छन् ।
यस्तोमा प्रधानमन्त्री बालेनले आफूसहित अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालको तस्बिर सार्वजनिक गर्दै भने– देश उँभो लगाउने टोली ।
तर, उनले सार्वजनिक गरेको देश बनाउने टोलीमा रहेका अर्थमन्त्री वाग्ले भारतसँग लम्पसार परेका नेता हुन्, जसले हालै भारतलाई गाली गरेर राष्ट्रवादी हुने युग नेपालमा सकियो भन्दै घोषणा गरेका थिए । जबकि, भारतले नेपाली भूमि मिचेको बेला नेपाली जनताले विरोध गर्ने गरेका छन् ।
त्यसलाई उनले भारतको विरोधको रुपमा अथ्र्याउँदै अब बालेन सरकार बनेपछि भारतको विरोध नहुने बताए ।
वाग्ले अमेरिकी पूर्वराष्ट्रपति मुनरोको विस्तारवादी र हस्तक्षेपयुक्त विचारबाट प्रभावित छन् र जसले दक्षिण एसियामा भारतको हस्तक्षेपलाई स्वीकार्नुपर्ने धारणा अघिल्लो संसद् बैठकमा राखेका थिए ।
यति मात्रै होइन, नेपालमा सेनाको संख्या कटौती गर्नुपर्छ भन्ने नेता पनि हुन् उनी । रास्वपाले महामन्त्रीबाट हटाएका डा. मुकुल ढकालका अनुसार बालेन सरकारका अर्थमन्त्री वाग्ले नेपाललाई भारतमा गाभ्नुपर्छ भन्ने नेता पनि हुन् । उनै नेता वाग्लेलाई बायाँतिर राखेर प्रधानमन्त्री बालेनले देश उभोँ लगाउने टोलीको सदस्य भनेका हुन् ।
परराष्ट्रमन्त्री खनाल भारत पुगेर नेपालको अघिल्ला सरकारहरूले कूटनीतिक मञ्चमा जे जे सर्त वा माग राखे, ती सबै बिर्सिने संकेत गर्दै उनले पुरानो ब्यागेज नबोक्ने घोषणा गर्ने मन्त्री हुन् ।
