उपाधि जितेपछि रोयल्सको ट्रफी नौ जिल्लामा घुमाइने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले च्याम्पियन ट्रफी प्रदेशका नौवटै जिल्लामा पुर्याउने भएको छ। टोलीले मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने ट्रफी टूरको कार्यतालिका सार्वजनिक गरेको छ।
उपाधि जितेपछि समर्थकसँग खुसी साट्ने उद्देश्यले रोयल्सले ट्रफी टूर आयोजना गर्न लागेको हो। टोलीका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको प्रतिबद्धताअनुसार ट्रफीलाई सुदूरपश्चिमका सबै जिल्लामा पुर्याउन लागिएको बताए। यसक्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा ट्रफी प्रदर्शन गर्नुका साथै स्थानीय बजारमा र्यालीसमेत आयोजना गरिनेछ।
आठ दिनसम्म चल्ने ट्रफी टूर मंसिर १३ गते अछाम र बाजुराबाट सुरु हुनेछ। पहिलो दिन बिहान ८ः३० बजे अछामको बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बैजनाथ मन्दिरबाट साँफेबगरसम्म बिहान ९ः३० देखि ११ः३० बजेसम्म र्याली निकालिनेछ। दिउँसो ४ देखि ५ बजेसम्म बाजुराको मार्तडीमा र्याली आयोजना हुनेछ।
मंसिर १४ गते डोटी र डडेल्धुरामा कार्यक्रम हुनेछ। बिहान ९ बजे शैलेश्वरी मन्दिरमा ट्रफी प्रदर्शन गरेपछि मन्दिरबाट दिपायल बजारसम्म र्याली निकालिनेछ। दिउँसो ४ देखि ६ बजेसम्म डडेल्धुरा बजारमा र्याली हुनेछ भने साँझ ६ः३० बजे उग्रतारा मन्दिरमा ट्रफी पूजा गरिनेछ।
मंसिर १५ गते बैतडीमा ट्रफी टूर पुग्नेछ। बिहान ८ः३० बजे निङ्गलाशैनी मन्दिरमा ट्रफी प्रदर्शन र त्यसपछि गोठलापानीमा र्याली आयोजना हुनेछ। मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरमा बिहान ८ः३० बजे ट्रफी पुर्याइनेछ। त्यसपछि खलंगा बजारमा र्याली निकालिनेछ।
मंसिर १७ गते बझाङको चैनपुर बजारमा बिहान ८ः३० देखि १०ः३० बजेसम्म र्याली हुनेछ। मंसिर १८ गते डडेल्धुरास्थित परशुराम धाममा दिउँसो १२ः३० बजे ट्रफी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।
मंसिर १९ गते कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रम हुनेछन्। बिहान ८ः३० बजे कैलालीको टीकापुर पार्कमा ट्रफी प्रदर्शन गरिनेछ। त्यसपछि बिहान १० बजे चिसापानी, ११ः३० बजे लम्की, १२ः३० बजे घोडाघोडी ताल र दिउँसो २ बजे अत्तरियामा ट्रफी पुर्याइनेछ। दिउँसो ४ देखि ६ बजेसम्म महेन्द्रनगर बजारबाट दोधारा चाँदनी पुलसम्म र्याली आयोजना हुनेछ।
ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा विशेष कार्यक्रम हुनेछ। दिउँसो ३ देखि ५ बजेसम्म धनगढी चौराहाबाट महोत्सव मैदानसम्म र्याली निकालिनेछ। साँझ ५ बजे महोत्सव मैदानमा सांगीतिक कार्यक्रमसहित ट्रफी टूर समापन गरिने रोयल्सले जनाएको छ।
सुदूरपश्चिम रोयल्सले गत शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै एनपीएलको तेस्रो संस्करणको उपाधि जितेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको टोलीले अब उपाधिको खुसी आफ्ना समर्थक र प्रदेशवासीसँग बाँड्न लागेको हो।
ट्रफी टूरमार्फत क्रिकेटको उत्साह गाउँगाउँसम्म पुर्याउने र सुदूरपश्चिममा क्रिकेटप्रतिको आकर्षण थप बढाउने रोयल्सको अपेक्षा छ।
