देउसीभैलोबाट संकलित ४ लाख रुपैयाँ कोषमा थपियो, अध्यक्ष गौतमको १० लाख जम्मा गर्ने लक्ष्य पूरा
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको लोककल्याणकारी कोषमा १० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। संस्थाको केन्द्रीय समिति र उपत्यका समितिले देउसीभैलो कार्यक्रममार्फत संकलन गरेको कुल ४ लाख रुपैयाँ कोषमा हस्तान्तरण गरेसँगै कोषको रकम १० लाख रुपैयाँ नाघेको हो।
२०८३ मंसिर १० गते सम्पन्न केन्द्रीय समिति र उपत्यका समितिको संयुक्त बैठकका क्रममा केन्द्रीय समितिले देउसीभैलोबाट संकलित ३ लाख ५० हजार रुपैयाँ र उपत्यका समितिले ५० हजार रुपैयाँ लोककल्याणकारी कोषका लागि प्रदान गरेका हुन्।
उक्त रकम राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका निवर्तमान अध्यक्ष तथा कल्याणकारी कोषका अध्यक्ष हरिबल्लभ नेपाललाई केन्द्रीय अध्यक्ष चन्द्रमणि गौतम र उपत्यका समितिका सचिव सञ्जय पोखरेलले हस्तान्तरण गरेका थिए।
यसअघि कोषमा ६ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको थियो। देउसीभैलोबाट संकलित थप ४ लाख रुपैयाँ जम्मा भएसँगै कोषको आकार १० लाख रुपैयाँभन्दा माथि पुगेको हो।
अध्यक्ष चन्द्रमणि गौतम नेतृत्वको वर्तमान कार्यसमितिले संस्थाको लोककल्याणकारी कोषमा १० लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य लिएको थियो। सोही लक्ष्यअनुसार विभिन्न कार्यक्रम तथा अभियानमार्फत कोषको रकम वृद्धि गर्दै लगिएको हो।
लोककल्याणकारी कोषलाई थप व्यवस्थित र सुदृढ बनाउँदै संस्थामा आबद्ध सञ्चारकर्मी तथा आवश्यकतामा परेका सदस्यहरूको हितमा उपयोग गर्ने उद्देश्य राखिएको छ। देउसीभैलोबाट संकलित रकम कोषमा जम्मा गर्ने निर्णयले संस्थागत सहकार्य र सामाजिक उत्तरदायित्वलाई समेत जोड दिएको छ।
