`

हेटौंडामा ३८ करोड ९१ लाखको खानेपानी आयोजना अघि बढ्दै

Nepal One HD १२ मंसिर २०८३ १३:३०
अर्थ समाचार

काठमाडाैं । हेटौंडा उपमहानगरपालिकामा खानेपानी सेवा विस्तार तथा व्यवस्थापन सुधारका लागि ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ लागतको सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अघि बढाइएको छ।

सिमलटार, हटिया र रातोमाटे क्षेत्रलाई समेट्ने आयोजनाको दोस्रो चरण कार्यान्वयनका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर, चितवनले बोलपत्र आह्वान गरेको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत सञ्चालन हुने उक्त आयोजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा अघि बढाइएको हो। आयोजनामार्फत नगरका विभिन्न वडामा खानेपानीका स्रोत, प्रशोधन केन्द्र, भण्डारण ट्यांकी तथा वितरण प्रणाली निर्माण र विस्तार गरिनेछ।

आयोजनाअन्तर्गत हेटौंडा-१ मा दुईवटा समवेल, पानी प्रशोधन केन्द्र र ३ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण गरिनेछ। वडा नं. २ मा कार्यालय भवन निर्माण गर्ने योजना छ। त्यस्तै, वडा नं. ३ मा समवेल, २ लाख लिटर क्षमताको भूमिगत ट्यांकी र १० किलोमिटर पाइपलाइन विस्तार गरिनेछ।

वडा नं. ६ मा डिप ट्युबवेल, ३ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी र ४ किलोमिटर पाइपलाइन निर्माण गर्ने योजना रहेको छ। वडा नं. ७ मा डिप ट्युबवेलसहित ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिनेछ।

यसैगरी, वडा नं. १४ मा ३६ किलोमिटर खानेपानी पाइपलाइन विस्तार, वडा नं. १६ मा डिप ट्युबवेल र ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिनेछ। वडा नं. १८ को हर्नामाडी क्षेत्रमा डिप ट्युबवेल र ४ लाख लिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण गर्ने योजना छ।

त्यस्तै, आरमपुर-भोर्ले क्षेत्रमा समेत डिप ट्युबवेल निर्माण तथा २ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ। आयोजनामा आवश्यक अन्य संरचना निर्माण र विद्युतीकरणका काम पनि समावेश छन्।

सिमलटार, हटिया र रातोमाटे खानेपानी आयोजनाको पहिलो चरणको निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको सार्वजनिक विवरणमा उल्लेख छ। पहिलो चरणमा करिब २० करोड रुपैयाँ लागतमा आयोजना सञ्चालन गरिएको थियो।

पहिलो चरणको कामसँगै दोस्रो चरणका लागि ३८ करोड ९१ लाख २७ हजार रुपैयाँको बोलपत्र आह्वान भएपछि हेटौंडाको खानेपानी पूर्वाधार विस्तारले थप गति लिने अपेक्षा गरिएको छ।

हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार वडा नं. १२ र १३ बाहेक उपमहानगरपालिकाका अन्य वडाका करिब १ लाख ७० हजार नागरिकलाई खानेपानी सेवा उपलब्ध गराइँदै आएको छ। बोर्डले ३० हजारभन्दा बढी निजी तथा संस्थागत धारामार्फत दैनिक करिब ३ करोड ७० लाख लिटर पानी वितरण गर्दै आएको जनाएको छ।

नगरको जनसंख्या तथा सहरी क्षेत्र विस्तारसँगै खानेपानीको माग पनि बढ्दै गएको छ। पुराना पाइपलाइन प्रतिस्थापन, चुहावट नियन्त्रण, सडक तथा ढल निर्माणका क्रममा पाइपलाइनमा हुने क्षति र सञ्चालन खर्च व्यवस्थापन बोर्डका प्रमुख चुनौतीका रूपमा रहेका छन्।

नयाँ आयोजना सम्पन्न भएपछि हेटौंडाका विभिन्न बस्तीमा खानेपानीको पहुँच विस्तार हुनुका साथै आपूर्ति प्रणाली थप व्यवस्थित र भरपर्दो हुने अपेक्षा गरिएको छ।

साथै, यसले दीर्घकालीन रूपमा नगरवासीलाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *