कांग्रेस देउवा पक्षमा महामन्त्री बन्न चाहनेको लर्को
काठमाडौं। कांग्रेसको देउवा समूहको १५औँ महाधिवेशन नजिकिँदै जाँदा महामन्त्री पदका आकांक्षीहरूको लर्को लागेको छ।
महाधिवेशनको मिति नजिकिएसँगै समूहभित्र उम्मेदवारीका लागि नेताहरूको दौडधुप र भेटघाट तीव्र बनेको छ। २१ देखि २३ मंसिरसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनलाई लक्षित गर्दै नेताहरू आन्तरिक छलफल र प्रतिनिधिहरूसँगको सम्पर्कमा जुटेका छन्।
केहीले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा गरेका छन् भने केहीले निकटस्थमार्फत आफ्नो आकांक्षा प्रकट गरिरहेका छन्।
महामन्त्रीका आकांक्षीमध्ये पूर्वगृहमन्त्री रमेश लेखक पनि छन्। उनले १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको निकटस्थहरूलाई जानकारी गराइसकेका छन्। देउवा समूहका अर्का नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पनि महामन्त्री बन्ने आकांक्षा राखेका छन्। पूर्वकेन्द्रीय सदस्य बस्नेत उम्मेदवारीको आन्तरिक तयारीमा रहेको बताइन्छ।
त्यस्तै, बागमती प्रदेशका पूर्वमन्त्री कुन्दनराज काफ्ले पनि महामन्त्रीको दौडमा छन्। १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित काफ्ले पछिल्लो समय विभिन्न जिल्ला तथा प्रदेश अधिवेशनमा सहभागी हुँदै प्रतिनिधिहरूसँग मत मागिरहेका छन्। केन्द्रीय सदस्य गुरु बरालले पनि महामन्त्रीमा उम्मेदवारी दिने स्पष्ट पारेका छन्।
राष्ट्रियसभा सदस्य जीतजंग बस्नेत पनि महामन्त्रीका आकांक्षी हुन्। जिल्ला अधिवेशनका लागि रौतहट पुगेका उनले आफू महामन्त्रीको उम्मेदवार भएको बताउँदै प्रतिनिधिहरूसँग मत मागिरहेका छन्। नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत १४औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
कांग्रेस युवा नेता भुपेन्द्रजंग शाही पनि महामन्त्रीको तयारीमा सक्रिय छन्। उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् भने विभिन्न जिल्लामा पुगेर प्रतिनिधिहरूसँग भेटघाट गरिरहेका छन्।
१४औँ महाधिवेशनमा कर्णाली प्रदेश सभापतिका प्रत्याशी बनेका शाही त्यतिबेला डा. शेखर कोइराला समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। नेपाल तरुण दलका पूर्वमहामन्त्री शाहीलाई कांग्रेसले दोस्रो संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कालिकोटबाट उम्मेदवार बनाएको थियो।
१४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित उमाकान्त चौधरी पनि महामन्त्रीका सम्भावित आकांक्षी हुन्। तर, उनले अहिलेसम्म आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा केही खुलाएका छैनन्।
देउवा समूहका नेताहरू भने प्रदेश अधिवेशन सम्पन्न भएपछि पदाधिकारीका आकांक्षीहरूको तस्वीर थप स्पष्ट हुने बताउँछन्।
अहिले जिल्ला र प्रदेश तहका अधिवेशनमा केन्द्रित रहेकाले महामन्त्रीका आकांक्षीहरू उम्मेदवारीबारे खुल्न बाँकी रहेको उनीहरूको भनाइ छ।
